गजुरीमा एमाले र समाजवादी किन आईपुगे एकै ठाउँमा

521 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,६ साउन – धादिङको गजुरी गाउँपालिकामा माओवादी केन्द्र र नेपाली काँग्रेस मिलेर फरक मत राख्नेहरुलाई दमन र हमला गर्न थालेको भन्दै नेकपा एमाले र एकीकृत समाजवादीले संयुक्त रुपमा विरोध जनाएका छन् ।
बहुमतको आडमा करारका कर्मचारी हटाउने, आन्तरिक राजस्वमा हानी नोक्सानी पुग्ने काम गर्ने तथा विपक्षी जनप्रतिनिधिलाई गुण्डागर्दी शैलीमा धाकधम्की दिने,दुव्र्यवहार गर्न थालेको भन्दै दुई पार्टीले विरोध जनाएका छन् ।
माओवादी केन्द्र गजुरीका अध्यक्ष सूर्य तामाङले विहिवार दिउँसो गजुरी गाउँ कार्यपालिका सदस्य आयुष प्रजालाई पालिका अध्यक्षकै कार्यकक्षमा अपमानजनक ढंगबाट गाली गलौज गर्नुका साथै जुनसुकै बेला जे पनि गर्न सक्ने भन्दै धम्की दिएपछि नेकपा एमाले गजुरी र नेकपा एसले तामाङको उक्त हर्कतको विरोध गर्दै संयुक्त बिज्ञप्ति जारी गरेर गाउँपालिकाको ध्यानाकर्षण गराएका हुन ।

पालिकामा कार्यरत करार कर्मचारीलाई पूर्वाग्रह राखी हटाएको बिषयमा पालिका अध्यक्ष गणेशलाल श्रेष्ठ संग भेटेर कुराकानी गर्दै गरेको बेला माओवादी केन्द्र गजुरीका अध्यक्ष तामाङले अध्यक्षको कार्यकक्षमै गएर प्रजालाई धम्की दिंदै दुव्र्यवहार गरेको नेकपा एमाले गजुरीका सचिव वसन्त दुवाडी वताउनु भयो ।

गाउँपालिकामा कार्यरत कर्मचारीहरुको करार सम्झौता नविकरण भङ्ग र आन्तरिक राजस्वका बिषयमा पालिका अध्यक्ष श्रेष्ठलाई भेटेर कुरा राख्दै गर्दा तामाङले आंफुलाई दुव्र्यवहार गरेको कार्यपालिका सदस्य प्रजाले जानकारी दिनुभयो । नेकपा एमाले र नेकपा एकृकित समाजवादी गजुरी गाउँपार्टी कमिटिले शुक्रवार अध्यक्ष श्रेष्ठ र उपाध्यक्ष शर्मिला विसुराललाई संयुक्त ध्यानाकर्षण पत्र पत्र बुझाउद पालिकामा बढ्दै गएको वेथिति, बहुमतको दम्भमा भईरहेका गलत हर्कतहरु वन्द गर्न ध्यानकर्षण पत्र मार्फत सचेत गराएका छन् । ध्यानकर्षण पत्रमा एकीकृत समाजवादीको तर्फबाट अध्यक्ष पुरुषोत्तम न्यौपाने र एमालेको तर्फबाट पालिका कमिटीका सचिव बसन्त दुवाडीले हस्ताक्षर गरेका छन् ।

गजुरी गाउँपालिका वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र आर्थिक मामिला मन्त्री शालिकराम जमकट्टेलेको गृह गाउँपालिका हो । सत्ता गठवन्धनमा संगै रहेपनि गत स्थानीय निर्वाचनमा समेत तालमेल हुन सकेको थिएन । पालिकामा अध्यक्षमा माओवादी र उपाध्यक्षमा काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।