पाँच किलो सुन र तीन थान पेस्तोलसहित बेगे पक्राउ

415 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । बेगे उपनामले चिनिने धादिङ दार्खाका बेगबहादुर तामाङ पाँच किलो सुन र पेस्तोलसहित पक्राउ परेका छन् । प्रहरीले तामाङको साथबाट तीन वटा पेस्तोल ५ किलो सुन र केही अमेरिकी डलरसमेत बरामद गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी निरीक्षक रञ्जन अवालका अनुसार बेगबहादुर नेत्रावती डबजोङ गाउँपालिकाको लपाङफेँदीबाट धादिङबेँसी आउँदै गर्दा बुधबार पक्राउ परेका हुन् । तामाङ धादिङको खनियाबास गाउँपालिका वडा नम्बर ४ का स्थायी वासिन्दा हुन् ।

ग १ ज ६७५३ नम्बरको मुस्ताङ फोर्स गाडीमा धादिङबेँसी आउँदै गर्दा प्रहरीले तामाङलाई पक्राउ गरेको हो । मोटरको पछाडि सिटमा यात्रा गरिआएका उनको साथबाट सुरुमा एक किलो फाइन गोल्ड (सुन) १ थान, ५० को ९७ वटा अमेरिकी डलर, सय दरको अमेरिकी डलर १६३ वटा फेला परेको थियो ।

प्रहरीले उनको साथबाट २ वटा मोबाइल फोन पनि बरामद गरेको छ । उनलाई पक्राउपछि बयानको क्रममा थप शंकास्पद व्यवहार देखिएपछि प्रहरीले उनको घरमा समेत छापा मारेको जनाएको छ ।

प्रहरीले साउन १७ गते बुधबार उनको घरमा छापा मारेको थियो । घरमा छापा मार्ने क्रममा एक थान अमेरिकी पेस्तोल, एक थान चाइनिज पस्तोल र अर्को एक थान कटुवा पेस्तोल फेला पारेको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै उनको घरमा लुकाइराखेको अवस्थामा २० राउन्ड गोली, कटुवामा लाग्ने १ थान गोली पनि प्रहरीले बरामद गरेको छ । एक किलो फाइन गोल्ड लेखिएको सुन र ५०० ग्राम लेखिएको सुनजस्तो देखिने ४ थान बिस्कुट आकारको सुन पनि फेला पारेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार उनको साथबाट ४ किलो सुन बरामद भएको छ । उनीसँगै प्रहरीले शोभा तामाङलाई पनि पक्राउ गरेको छ । दुवै जनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

यसअघि पनि विभिन्न आरोपमा तामाङ पक्राउ पर्दै जेल सजाय काट्दै छुट्दै गरेका व्यक्ति हुन् ।