‘बेगे’ बाट बरामद सुन र अमेरिकन डलर दुबै नक्कली !

447 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । धादिङको खनियाबास गाउँपालिका–४ का बेग बहादुर तामाङ ‘बेगे’ बाट बरामद गरिएको सुन र अमेरिकन डलर दुबै नक्कली भएको प्रहरीले जनाएको छ ।

मंगलबार धादिङको लपाङफेदीबाट धादिङबेसी आउँदै गर्दा बेगेको साथबाट बरामद भएको १ किलो फाइन गोल्ड ९९९.९ लेखिएको विस्कुट आकारको पहेलो धातु र ५० र १०० रुपैयाँ लेखिएको अमेरिकन डलर नोट बिहिवार बिज्ञ टोलीबाट गरिएको परीक्षणको क्रममा सुन र डलर नक्कली पुष्टि भएको हो ।

मंगलबार ग १ ज ६७५३ नम्बरको मुस्ताङ फोर्स गाडीमा सदरमुकाम धादिङबेसी आउँदै गर्दा बेगे र खनियावास–४ की शोभा तामाङ पक्राउ परेका थिए । १ किलो सुन र नक्कली नोट सहित बेगे पक्राउ परेपछि प्रहरीले उनको घर खोजतलासी गरिएको थियो । खोजतलासीको क्रममा बेगेको घरबाट ५ सय ग्राम लेखिएको सुन जस्तो देखिने पहेँलो धातु ४ थान बरामद भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको थियो ।

बेगेको घरबाट सुन जस्तो देखिने पहेँलो धातु ४ थानको साथमा प्रहरीले ३ वटा पेस्तोल र पेस्तोलमा लाग्ने गोलीहरु पनि बरामद गरेको थियो । सुन ल्याउदै गरेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरी निरीक्षक रञ्जन अवाले बताए ।

प्रहरी निरीक्षक अवाका अनुसार घरमा फेला परेको पेस्तोल एक थान अमेरिकी, एक थान चाइनिज र अर्को कटुवा पेस्तोल रहेको छ । पक्राउ परेका बेगेलाई हातहतियार तथा खरखजाना र नक्कली नोट कारोबार सन्बन्धी कसुरमा मुद्दा र शोभालाई भने नक्कली नोट कारोबारमा मुद्दा चलाउन जिल्ला अदालतबाट म्याद लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।