धादिङकी महिला उद्यमी बसुमाया राष्ट्रिय स्वतन्त्र पार्टीकी सह-कोषाध्यक्षमा चयन

711 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । धादिङकी महिला उद्यमी बसुमाया तामाङ राष्ट्रिय स्वतन्त्र पार्टीको सह-कोषाध्यक्षमा चयन हुनुभएको छ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको सोमवार बसेको केन्द्रीय समिति बैठकले तामाङलाई सह-कोषाध्यक्षमा मनोनित गरेको हो। तामाङ लगायत डोल प्रसाद अर्याललाई उपसभापति, मुकुल ढकाललाई महामन्त्री र कविन्द्र बुर्लाकोटीलाई सह-महामन्त्री नियुक्त गरेको छ।

बैठकले आगामी निर्वाचन प्रयोजनका लागि केन्द्रीय सदस्य विपिन आचार्यको संयोजकत्वमा घोषणापत्र तयारी समिति र उम्मेदवार घोषणा गरेका स्वतन्त्र ब्यक्तिहरुसँग छलफल गर्नका लागि गणेश पराजुलीको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ ।

बेथितिविरुद्ध खबरदारी गर्ने उद्देश्यले केन्द्रीय सदस्य सोविता गौतमको संयोजकत्वमा र्‍यापिड एक्सन टिम समेत गठन गरेको छ ।


धादिङ रुबीभ्याली गाउँपालिकाकी बसुमाया तामाङ एक सफल उद्यमी हुनुहुन्छ। उहाँ विगत केही वर्षदेखी आफ्नै टिमुरको छोप उत्पादन गर्ने “नेपाली मन उद्योग” सन्चालन गर्दै आइरहनु भएको छ ।