धादिङमा वडा तहबाटै राष्ट्रिय परिचयपत्र वितरण अभियान

625 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, असाेज २७ : राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले धादिङका सबै नागरिकको राष्ट्रिय परिचयपत्र बनाउन वडा तहमै टोली खटाएर अभियान थाल्ने भएको छ ।

गल्छी गाउँपालिकाका वडाबाट अभियान सुरु गर्न लागिएको हो । पञ्जीकरण विभागबाटै खटिएका कर्मचारीको टोलीले जिल्लाका सबै वडामा पुगेर नागरिकको राष्ट्रिय परिचयपत्र फाराम भर्ने लक्ष्य लिएको छ ।

गल्छी बैरेनीमा जिल्लाका १३ वटै स्थानीय तहका प्रमुखको उपस्थितिमा यस्तो जानकारी दिइएको हो । शुक्रबारदेखि नै आवश्यक जनशक्ति परिचालन गरी क्रमशः जिल्लाका एक सय चार वटै वडामा पुगेर सबै नागरिकको राष्ट्रिय परिचयपत्र बनाउने तयारी थालिएको रहेको निर्देशक कृष्णप्रसाद पौडेलले बताए ।

विभागले अहिलेसम्म ३९ जिल्लामा अभियान पूरा गरेको । तेह्र जिल्लामा अहिले अभियान सञ्चालन भइरहेको छ । छापिएको कार्ड अब चाँडै वितरण गर्ने पनि विभागको लक्ष्य रहेको निर्देशक पौडेलको भनाइ छ ।

अभियान सञ्चालनपछि राष्ट्रिय परिचयपत्रका लागि जिल्ला प्रशासन कार्यालयमा रातभर लाइन बस्नुपर्ने समस्या समाधान हुनेछ । नागरिकता, राहदानी, जग्गा धनीपुर्जा, मतदाता परिचयपत्रलगायतका दुई दर्जन बढी परिचयपत्रको सरकारले एकीकृतरूपमा राष्ट्रिय परिचयपत्र वितरण गर्न थालेको हो ।