धादिङमा २५ देखि ७३ वर्षसम्मका उम्मेदवार जनजाती, दलित र महिलाको संख्या न्यून

554 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

– केशव अधिकारी

धादिङ । मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि धादिङ जिल्लाबाट २५ वर्ष देखि ७३ वर्ष सम्मका गरि ६६ जना उम्मेदवारहरु मैदानमा उत्रिएका छन् । धादिङ जिल्लाबाट उम्मेदवारी दिएका मध्ये ७० वर्ष माथि २ जना ६० वर्ष माथिका ९ जना, ५० देखि ५९ वर्ष उमेरका ८ जना, ३० देखि ४९ वर्ष उमेरका ४१ जना र ३० वर्ष मुनिका ६ जना रहेका छन् ।उम्मेदवारहरु मध्ये सबैभन्दा पाको नेपाली कांग्रेस बिपीबाट धादिङ क्षेत्र नम्बर १ (ख) प्रदेश सभा सदस्यका उम्मेदवार एकराज सिलवाल ७३ वर्ष र सबैभन्दा कान्छा उम्मेदवारमा धादिङ १ बाट नेपाल स्वतन्त्र पार्टीका प्रतितिनिधि सभा सदस्य उम्मेदवार हिमेश पन्त २५ र धादिङ १ (क) बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवार रविना पौडेल २५ वर्षकी छन् ।

प्रदेश क्षेत्र १ (ख) बाट उम्मेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका जितबहादुर भण्डारी ७१ वर्षका छन् । ६० वर्ष माथिका ११ जनाको उम्मेदवारी परेको छ । जसमा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका नेकपा एसका राजेन्द्र पाण्डे ६६ वर्ष, र नेपाल मजदुर किसान पार्टीका विश्वअम्मर महर्जन र स्वतन्त्र उम्मेदवार उत्तमराज शर्मा कँडेल ६२ वर्षका छन् ।

क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका मध्ये नेकपा एमालेका खेमप्रसाद लोहनी ६३, नेपाली कांग्रेसका रामनाथ अधिकारी ६१, स्वतन्त्र उम्मेदवार बाबुकष्ण श्रेष्ठ ६१ र नेपाली कांग्रेस विपिका शंकर दर्जी ६० वर्ष उमेरका छन् । त्यसैगरी प्रदेश सभा तर्फ १ (क) मा राप्रपाका उम्मेदवार गीताप्रसाद आचार्य ६६ वर्ष र २ (ख) मा नेपाली कांग्रेस विपिका उम्मेदवार सेतेमान घले पनि ६३ वर्षका छन् ।

प्रतिनिधि सभा प्रदेश सभाका लागि धादिङ जिल्लामा ५० देखि ६० वर्ष उमेर समूहका ८ जनाको उम्मेदवारी परेको छ। जस्मा धादिङ १ बाट नेकपा एमालेका भूमी प्रसाद त्रिपाठी ५७ वर्ष, क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा तर्फका स्वतन्त्र उम्मेदवार सुन्दर तामाङ र धादिङ २ (ख)का नेपाली कांग्रेसका उम्मेदवार गोविन्द लम्साल पनि ५७ वर्षका छन्। यि बाहेक धादिङ २ (क) बाट प्रदेश सभाका एमाले उम्मेदवार डाक्टर रामकुमार अधिकारी ५६ वर्ष, धादिङ १ (क) का स्वतन्त्र उम्मेदवार नेत्रराज पौडेल ५३ वर्ष, धादिङ १ (ख)का प्रदेश सभा सदस्य उम्मेदवार माओवादी केन्द्रका शालिकराम जमकट्टेल ५१, नेपाल स्वतन्त्र पार्टीबाट धादिङ २ का उम्मेदवार वसुमाया तामाङ र धादिङ २ (क) का स्वतन्त्र उम्मेदवार दयाराम लम्साल पनि ५१ वर्षका छन् ।

सबैभन्दा धेरै उम्मेदवारी ३० देखि ५० वर्ष उमेर समूहबाट ४१ जनाको परेको छ। ३० वर्ष भन्दा मुनिका हिमेश र रविना बाहेक क्षेत्र नम्बर २ (ख)बाट प्रदेश सभा सदस्यमा जन समाजवादी पार्टीका उम्मेदवार बुद्धिबल उपरकोटी २६ वर्षका छन् । मंगोल नेशनल अर्गनाईजेशन प्रतिनिधि सभामा उम्मेदवारी दिएका क्षेत्र नम्बर १ का सुमन तामाङ २९ र क्षेत्र नम्बर २ मा धनमाया तामाङ ३० वर्षका छन् ।

उमेर समूहमा ३० देखि ५० वर्ष उमेर समूहको संख्या धेरै देखिएपनि मुख्य प्रतिस्पर्धामा आउनेहरुमा ५० वर्ष माथिका धेरै रहेका छन् । उम्मेदवारहरुको जातिय आधारमा हेर्दा सबै भन्दा धेरै ३२ जना वाहुन, क्षेत्रीबाट, २५ जना जनजातीबाट, ४ जना दलित बाट उम्मेदवार बनेका छन् । कुल उम्मेदवारहरु मध्ये जिल्लामा महिलाको संख्या ५ जना रहेको छ। पाँच जनामा प्रतिनिधि सभामा २ र प्रदेश सभामा ३ जना रहेका छन् ।

जनजातीको बाहुल्यता रहेको धादिङमा मुख्य दलहरुले जनजातीबाट उम्मेदवार वनाउन सकेका छैनन् । एमालेले क्षेत्र नम्बर १ मा भूमी त्रिपाठी, क्षेत्र नम्बर २ मा खेम लोहनी, प्रदेश सभा १ क मा रमेश आचार्य र १ ख मा गजेन्द्र थपलिया क्षेत्र २ क मा डाक्टर रामकुमार अधिकारीलाइ उम्मेदवार वनाएर मैदानमा उतारेको छ। प्रदेश सभा २ ख मा एमालेबाट उम्मेदवारी दिएका धनवहादुर घलेलाई फिर्ता वोलाएर सो ठाउँमा राप्रपाका डम्बर तामाङलाई समर्थन गर्दा अन्य क्षेत्रमा एक जना पनि जनजाती परेका छैनन् ।

गठबन्धनको तर्फबाट उम्मेदवारी दिएको नेपाली कांग्रेसले १ क मा मदुकुमार श्रेष्ठलाई उम्मेदवार बनाएको छ भने प्रतिनिधि सभा २ मा रामनाथ अधिकारीलाई उम्मेदवार बनाएको छ । गठबन्धनकै अर्को घटक माओवादी केन्द्रले २ प्रदेश सभा पाएकोमा शालिकराम जमकट्टेल र जगतबहादुर सिम्खडालाई उम्मेदवार वनाएको छ भने क्षेत्र नम्बर १ प्रतिनिधि सभातर्फ भाग पाएको नेकपा एसले राजेन्द्र पाण्डेलाई उठाएको छ ।

सत्ता पक्ष र विपक्षी गठबन्धन दुवै तर्फ प्रदेश सभामा एक/एक जना जनजाती समेटिएका छन् । ठूला दलले महिला जनजाती, दलितलाई खासै स्थान दिन नसकेपनि साना दलले भने समावेशी ढंगबाट उम्मेदवार छानेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्लाको क्षेत्र नम्बर १ मा हिमेश पन्त र क्षेत्र नम्बर २ मा वसुमाया तामाङलाई अघि बढाएको छ भने नेपाली कांग्रेस विपिले प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा शंकर दर्जीलाई उम्मेदवार बनाएको छ ।