महिला प्रहरीलाई जबर्जस्ती गर्न खोज्ने इन्सपेक्टर ढुंगाना जेल चलान

275 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । आफ्नै कार्यालयमा कार्यरत महिला प्रहरीलाई बलात्कार प्रयास गरेको अभियोगमा नेपाल प्रहरीका इन्सपेक्टर अपूर्व ढुंगाना पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत धादिङले उनलाई मंगलबार थुनामा पठाउने आदेश दिएको हो ।

इलाका प्रहरी कार्यालय, खानीखोलामा कार्यालय प्रमुखका रूपमा कार्यरत रहेका बेला उनले आफ्नै कार्यालयमा कार्यरत एक महिला प्रहरीमाथि बलात्कार प्रयास गरेको आरोप उनलाई लागेको थियो ।

पीडित महिला प्रहरीको उजुरीका आधारमा गत १५ असोजमा जिल्ला प्रहरी कार्यालय, धादिङले उनलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि न्यायिक हिरासतमा राखेको थियो । मदिरा सेवन गरेर मध्यराति महिला ब्यारेकमा पसेर बलात्कारको प्रयास गरेको पीडितको आरोप छ ।

ढुंगानाविरुद्ध जबरजस्तीकरणी उद्योग मुद्दा दायर भएकोमा जिल्ला न्यायाधीश स्वीकृति पराजुलीको एकल इजलासले उनलाई थुनामा पठाउने आदेश दिएको हो । अदालतको आदेशअनुसार उनलाई मंगलबार नै कारागार पठाइएको जिप्रका धादिङका डीएसपी श्याम खत्रीले उनुभयो ।

ढुंगाना १० महिनाअघिदेखि इलाका प्रहरी कार्यालय खानीखोलामा कार्यालय प्रमुखको जिम्मेवारीमा थिए । खानीखोलामा कार्यरत महिला प्रहरीले उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय धादिङमा ‘बलात्कार उद्योग’ गरेको जाहेरी दिएपछि उनी पक्राउ परेका हुन् ।

गएको असोज १५ गते राति १ बजेतिर खानीखोलास्थित महिला प्रहरीको ब्यारेकमा पसेर इन्स्पेक्टर ढुंगानाले बलात्कार प्रयास गरेको महिला सहकर्मीको आरोप छ । ब्यारेकमा पुगेर यौन सम्बन्धको प्रस्ताव राखेको पीडितको उजुरीमा छ ।

सो घटना ‘रिपोर्ट’ हुनासाथ धादिङका प्रहरी उपरीक्षक (एसपी) राकेश सिंहले इन्स्पेक्टर ढुंगानालाई तत्काल पक्राउ गर्न आदेश गरेका थिए । ढुंगानालाई काठमाण्डौंमा पक्राउ गरी हतकडी लगाएर जिल्ला प्रहरी कार्यालय ल्याईएको थियो । ढुंगाना पक्राउ परेर करणी उद्योगमा मुद्दा दर्ता भएसँगै उनी स्वतः निलम्बनमा परेका छन् । प्रहरी प्रधान कार्यालयले खानीखोलामा इन्स्पेक्टर डबलबहादुर बमलाई काजमा खटाएको छ ।

इन्स्पेक्टर ढुंगाना पटक-पटक विवादमा आइरहने पात्र हुन । केही महिनाअघि रक्सीको नसामा मध्यराति आफ्नै चौकीका वरिष्ठ हवल्दार र ट्रक ड्राइभरलाई कुटपिट गरेर उनी विवादमा आएका थिए ।

गृहमन्त्री बालकृष्ण खाणको पीसओको रूपमा काम गरिसकेका उनी प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका पूर्वसभापति भरत शाहको नातेदार भएकै कारण  यसअघि कारबाहीबाट जोगिएएका थिए ।

चार वर्षअघि इन्सपेक्टरमा बढुवा भएका ढुंगाना पहिलेदेखि नै विवादित पात्र हुन् । कांग्रेस नेताको सिफारिसकै आधारमा इलाका प्रहरी कार्यालय खानीखोलाको इन्चार्ज पाएको आरोप उनी माथि छ । राजधानी प्रवेश गर्ने मुख्य नाकामा रहेको खानीखोलामा इन्चार्ज भएर आउन प्रहरी भित्र निकै चलखेल हुने गर्दछ ।