‘मेरो उम्मेदवारी कायमै छ’- टिकानिधि काप्री

445 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- प्रतिनिधि सभा सदस्यका लागि धादिङ २ बाट स्वतन्त्र उम्मेदवारी दिएका टिकानिधि काप्रीले आफ्नो उम्मेदवारी फिर्ता भएको भन्ने हल्ला मिथ्या रहेको वताएका छन् । आंफु अहिले पनि चुनाव प्रचार प्रसारमा रहि रहेको बेला केही व्यक्ति र समूहले नियोजित रुपमा टिकानिधिको उम्मेदवारी निष्क्रिय भईसकेको भनि भ्रम फैलाउने काम भएको बताएका छन्  ।चुनाव छाडेर भाग्नु पर्ने गरी आँफुले कुनै गल्ती नगरेकाले कसैको उक्साहट, दवाव,अतिरन्जनाबाट पछि नहट्ने उनले वताएका छन् ।

सत्ता गठवन्धनका तर्फबाट नेपाली काँग्रेसले जिल्ला सभापति रामनाथ अधिकारीलाई धादिङ २ मा प्रतिनिधि सभा सदस्यको साझा उम्मेदवार  बनाएर चुनावी अभियान सञ्चालन गरिरहेको छ । नेपाली काँग्रेस को २ नम्बर क्षेत्रीय प्रतिनिधि तथा नेपाली काँग्रेसको भात्तृ संस्था नेपाल सांस्कृतिक संघका केन्द्रिय सदस्य समेत रहेका काप्रीले पार्टीका आधिकारिक उम्मेदवारलाई समर्थन नगरी उम्मेदवारी कायम राखेपछि काँग्रेसले पार्टीको साधारण सदस्य समेत नरहने गरी उनलाई कारवाही गरिसकेको छ ।

काँग्रेस पार्टीले कारवाही गरेपछि आंफुलाई जनताको बिचमा जान अझै सजिलो भएको काप्रीले वताएका छन् । आफ्नो उम्मेदवारी कोहि व्यक्ति बिशेषको बिरुद्धमा नभई लोकतन्त्र,सुशासन,बिकास र सम्बृद्धिका लागि आंफुले प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएको उनको भनाई छ ।काप्रीलाई निर्वाचन आयोगले ‘खरायो’ चुनाव चिन्ह दिएको छ ।

आफ्नो उम्मेदवारी निष्क्रिय भईसकेको भनि भ्रम फैलाउनेहरुको पछि नलाग्न र अफवाहहरुको विश्वास नगर्न काप्रीले आग्रह गरेका छन् । मेरा बिरुद्ध अफवाह फैलाएर मतदातालाई भ्रमित पार्ने काम भईरहेकाले भ्रमहरु चिर्न र मतदातालाई यथार्थ बिषयमा जानकारी दिन छिट्टै पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गर्ने काप्रीले धादिङ न्यूजलाई बताए ।

धादिङ २ मा सत्ता गठवन्धनबाट रामनाथ अधिकारी, नेकपा एमालेबाट खेमप्रसाद लोहनी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बसुमाया तामाङ, नेपाली काँग्रेस ( विपि) बाट शंकर दर्जी,जनता समाजवादी पार्टी नेपालबाट मेकरमान तामाङ, मङ्गोल नेशनल अर्गनाइजेशनबाट धनमाया तामाङ प्रतिस्पर्धामा छन् । यो क्षेत्रमा मुख्य प्रतिस्पर्धा भने कांग्रेस र एमालेकै उम्मेदवारबीच हुने देखिएको छ ।  लामो समय सम्म नेपाली काँग्रेसको विभिन्न जिम्मेवारीमा रहेपनि यस पटक पार्टी भन्दा बाहिर रहेर मैदानमा निस्किएका कारण आफ्नोे पक्षमा जन समर्थन बढिरहेको काप्री बताउँछन ।