धादिङको क्षेत्र नं २ ‘ख’ बाट प्रदेश सभा सदस्यमा राप्रपा विजयी

280 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ। राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य डम्बर तामाङ धादिङको क्षेत्र नं २ ‘ख’ बाट प्रदेश सभा सदस्यमा विजयी भएका छन्।

डम्बरको जितसँगै राप्रपाले २३ वर्षपछि धादिङमा विजयको झण्डा फहराएको छ।

पूर्वगृहमन्त्री बुद्धिमान तामाङ २०५६ सालमा धादिङको क्षेत्र नम्बर १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीको उम्मेदवार भई प्रतिनिधि सभा सदस्यमा विजयी भएपछि त्यसयता राप्रपाले प्रत्यक्षमा जित निकाल्न सकेको थिएन।

यस पटक नेकपा एमालेसँग चुनावी तालमेल गरेको राप्रपाले सत्ता गठबन्धनको साझा उम्मेद्वार नेकपा माओवादी केन्द्रको अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष तथा निवर्तमान प्रदेश सांसद जगत सिंखडालाइ १ सय ३१ मत फरकमा पराजित गरेको हो। निवर्तमान सांसद सिंखडालाई बलियो उम्मेदवारको रुपमा हेरिएको थियो।

मंसिर ४ मा सम्पन्न निर्वाचनमा यस प्रदेश क्षेत्रमा २९ हजार ६ सय ७९ मत खसेको थियो। प्रदेश सदस्यमा विजयी तामाङले १४ हजार ४ सय ८१ मत ल्याए भने निकटतम प्रतिद्वन्द्वी सिंखडाले १४ हजार ३ सय ५० मत पाए।

२०७४ को प्रदेशसभा निर्वाचनमा सिंखडासँग १ हजार ८ सय ३१ मतले पराजित भएका तामाङले यस पटक एमालेसँग मिलेर २०७४ को बदला लिन सफल भएका छन्।

२०७४ मा वाम गठबन्धनबाट चुनाव जितेका जगतलाइ अहिले तिनै तामाङले नेकपा एमालेसँग नै मिलेर हराउँदै २०७४ को बदला लिएका हुन्।

यस प्रदेशबाट उम्मेदवार रहेकामध्ये मंगोल नेशनल अर्गनाइजेशनका सन्तोष कुमार तामाङले ४ सय २४ मत, नेपाली कांग्रेस वीपीका सेतेमान तामाङले २ सय ८५ मत, जनता समाजवादी पार्टीका इमान तामाङले २ सय ४३ मत र नेपाल मजदुर किसान पार्टीका शिवराज किजुले ६५ मत र स्वतन्त्र उम्मेदवारहरू देवी बुर्लाकोटीले ८० मत, सुन्दर तामाङले ९८ मत र मान बहादुर तामाङले ९० मत र रामकृष्ण बसौलाले ३२ मत ल्याएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एकल उम्मेदवारी दिएका तामाङलाई नेकपा एमालेले आफ्नो पार्टीको तर्फबाट उम्मेदवार बनाइएका संविधान सभा सदस्य एवम पार्टीका जिल्ला उपाध्यक्ष धनबहादुर घलेको उम्मेदवारी फिर्ता लिएर समर्थन गरेको थियो।

२७ वटा वडा रहेको यस प्रदेशमा गएको स्थानीय तहको निर्वाचनमा राप्रपाले २४ वडामा उम्मेदवार उठाउँदा जम्मा ४ वटा वडामा मात्रै विजयी भएको थियो।

राप्रपाका वडाअध्यक्षहरूले पाएको जम्मा मत ४ हजार ४ सय ३८ रहेको थियो। त्यस्तै २७ वटै वडामा उम्मेदवार रहेको नेकपा एमालेको मत १२ हजार २ सय ९१ मत जोड्दा डम्बरसँग १६ हजार ७ सय २९ मत थियो।

स्थानीय चुनावमा कांग्रेससँग १२ हजार २ सय ९१ मत, नेकपा एससँग २ हजार १ सय ६६ मत र नेपाल समाजवादी पार्टीसँग ८ सय २४ मत रहेको थियो।

उता जगत सिंखडासँग नेपाल समाजवादी पार्टी, नेकपा एस र कांग्रेसको मत जोड्दा २१ हजार ७ सय ६६ मत पुग्ने प्रक्षेपण गरिएको थियो।

दोश्रो पटक उम्मेदवार बनेका निवर्तमान सांसद सिंखडाले गठबन्धन दलहरूको भोट जोगाउन नसक्दा पराजित हुन पुगे।