धादिङ क्षेत्र नम्बर १ बाट नेकपा एसका राजेन्द्र पाण्डे विजयी

487 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ– धादिङ जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा एसका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । सत्ता गठवन्धनका साझा उम्मेदवार बनेका पाण्डेले नेकपा एमालेका जिल्ला अध्यक्ष भूमीप्रसाद त्रिपाठीलाई पराजित गरि विजयी भएका हुन् ।

पाण्डे ३५ हजार ९३४ मत ल्याए भए भने यस क्षेत्रका निवर्तमान सांसद त्रिपाठीले २७ हजार ९५३ मत ल्याएका छन् । यसै क्षेत्रबाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्र्टीका कमेडियन हिमेश पन्तले १२ हजार ५६ मत पाएका छन् ।
पाण्डे २०४८, २०५१, २०५६, २०७० र २०७४ को संसदीय निर्वाचनमा नेकपा एमालेबाट विजयी भएका थिए । २०६४ को संविधान सभा निर्वाचनमा भने पाण्डे पराजित भएका थिए । गत बर्ष एमाले विभाजन गरी नेकपा एकीकृत समाजवादी गठन गर्न महत्वपूर्ण भूमिका खेलेका पाण्डे सो पार्टीको केन्द्रिय उपाध्यक्ष छन् । एमाले विभाजन पछि वागमती प्रदेशको मुख्य मन्त्री सम्हालेका पाण्डे एमालेमै हुंदा स्थानीय विकास मन्त्री समेत भएका थिए । २०४३ सालमा जनपक्षिय राष्ट्रिय पञ्चायत सदस्यमा पराजित भएका पाण्डे २०४४ सालमा जिल्ला पञ्चायत धादिङको सभापतिमा विजयी भएका थिए ।

धादिङ १ को क बाट प्रदेश सभामा नेपाली काँग्रेसका मदुकुमार श्रेष्ठ र ख मा नेकपा माओवादी केन्द्रका शालिकराम जमकट्टेल विजयी भएका छन् । धादिङको क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका रामनाथ अधिकारी र प्रदेश सभा तर्फ क मा गोविन्दप्रसाद लम्साल र ख मा राप्रपाका डम्बरबहादुर तामाङ विजयी भएका छन् ।