आठौं धादिङ महोत्सव पुस ७ गते बिहीबार बाट शुरु हुने

602 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ-धादिङ उद्योग वाणिज्य संघको आयोजनामा हुन गईरहेको आठौं धादिङ महोत्सव पुस ७ गते बिहीबार बाट शुरु हुने भएको छ । नीलकण्ठ नगरपालिका वडा नम्बर ३ खुल्लामञ्चमा आयोजना गरिएको महोत्सवको उदघाटन बिहीबार दिउँसो १२ वजे भव्य कार्यक्रमका बिच  हुनेभएको छ । महोत्सवको उदघाटन हुनुअघि सदरमुकाम धादिङबेसीका विभिन्न भागबाट उत्तरी धादिङको नेपाल र तिव्वतको लडाईको झल्को दिने घोडचढी नाच देखि दक्षिणी धादिङको चेपाङ सस्कृतिलाई समेटिएको झाँकीका साथै अन्य जात समुदायको संस्कृति र परम्परा बोकेको नृत्य, झाँकी तथा तथा शोभा यात्रा निकालिने महोत्सव मुल आयोजक समितिले जानकारी दिएको छ ।

‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि पर्यटन जलस्रोत तथा उद्योगको पूर्वाधार’ भन्ने नाराका साथ महोत्सवको आयोजना गर्न लागिएको संघका अध्यक्ष बिष्णुप्रसाद थपलियाले बताउनुभयो ।

महोत्सवको मुख्य आकर्षणको रुपमा कृषि प्रदर्शनी, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी, विभिन्न औद्योगिक उत्पादनको प्रदर्शनी तथा बिक्री वितरण रहेको आयोजकहरुले जानकारी दिएका छन् ।

यसैगरी हस्तकलाको प्रदर्शनी, जडीबुटी तथा बनपैदावारको प्रदर्शनी, बन्यजन्तु संरक्षण डकुमेनटी प्रदर्शनी, खनिजजन्य उत्पादनको प्रदर्शनी गरिने छ । महोत्सवमा करिब १ सय २० वटा स्टल रहनेछ । तीन लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको महोत्सवको आकर्षणहरू स्थानीय तहभित्र उत्पादन हुने वस्तु तथा सेवाको प्रदर्सनी, कृषि प्रदर्शनी, साना तथा घरेलु उत्पादनको प्रदर्सनी तथा बिक्री वितरण, विविध साँस्कृतिक प्रदर्शनी, पर्यटन प्रवद्र्घनसम्बन्धी विविध कार्यक्रमहरू, स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय औद्योगिक वस्तुहरूको प्रदर्शनी तथा बिक्री, हस्तकलाको प्रदर्शनी तथा बिक्री वितरण रहनेछ ।महोत्सवमा  १० करोडको कारोवार हुने लक्ष्य राखिएको आयोजकले वताएका छन ।

महोत्सवमा धादिङ जिल्लाको पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार एवम् प्रवद्र्धनको लागि जिल्लाको पर्यटकीय क्षेत्रहरुको जानकारी गराइनेछ ।

अघिल्ला महोत्सवहरु जस्तै यसपटक पनि कृषि, पर्यटन, जलस्रोत तथा उद्योगको विकासका लागि महोत्सवको आयोजना गरिएको संघका अध्यक्ष थपलियाले बताउनु भएको छ । ।