धादिङबेसीमा शुरु भयो आठौं धादिङ महोत्सव

661 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ उद्योग वाणिज्य संघको आयोजनामा भएको आठौं धादिङ महोत्सवको बिहीवार अपरान्ह उद्घाटन भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री एवम धादिङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले पानसमा दिप प्रज्वलन गरेर महोत्सवको उदघाटन गरेका थिए ।

नीलकण्ठ नगरपालिका वडा नम्बर ३ खुल्लामञ्चमा आयोजना गरिएको महोत्सवको उदघाटन गर्न पाण्डे काठमाण्डौंमा आयोजित संघीय सांसदको सपथमा सहभागी भएर हेलिककप्टरबाट दिउँसो २ वजे पछि धादिङबेसी आएका थिए । महोत्सवके उद्घाटन कार्यक्रममा सांसदहरु रामनाथ अधिकारी, गोविन्द लम्साल, डम्बर तामाङ, मायादेवी शर्मा, संविधान सभा सदस्य गुरुप्रसाद वुर्लाकोटी,उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष चण्डीराज ढकाल, नेपाल उद्योग बाणिज्य महासंघ बागमती प्रदेश अध्यक्ष दिलसुन्दर श्रेष्ठ, नेपाली काँग्रेस धादिङका पुर्व सभापति रमेश धमला, नेकपा एमाले धादिङका सचिव अर्जुन गोर्खाली, नेकपा माओवादी धादिङका संयोजक मनराज भण्डारीका साथै विभिन्न संघ संस्थाका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरुको आतिथ्य रहेको थियो । धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष बिष्णुप्रसाद थपलियाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा संघका पूर्व अध्यक्षहरु, केन्द्रिय सदस्यहरु, पूर्व केन्द्रिय सदस्यहरुको पनि आतिथ्य रहेको थियो ।

‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि पर्यटन जलस्रोत तथा उद्योगको पूर्वाधार’ भन्ने नाराका साथ आयोजना गरिएको महोत्सव पुस १७ गते सम्म चल्नेछ ।


महोत्सवको मुख्य आकर्षणको रुपमा कृषि प्रदर्शनी, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी, विभिन्न औद्योगिक उत्पादनको प्रदर्शनी तथा बिक्री वितरण रहने वताईएपनि पहिलो दिन महोत्सव स्थलमा अधिकांश स्टल खाली देखिएको थियो ।


आयोजकहरुले हस्तकलाको प्रदर्शनी, जडीबुटी तथा बनपैदावारको प्रदर्शनी, बन्यजन्तु संरक्षण खनिजजन्य उत्पादनको प्रदर्शनी गरिने प्रचार गरेपनि महोत्सवको पहिलो दिन प्रदर्शनी तर्फ भन्दा पनि उद्घाटन कार्यक्रममा आयोजकहरु केन्द्रित भएका देखिन्थे । महोत्सवमा करिब १ सय २० वटा स्टल रहेको छ । महोत्सवको उदघाटन हुनुअघि वजार क्षेत्रबाट धादिङ जिल्लाको विभिन्न जातजातिको भेषभुषा झल्कने संस्कृतिको प्रदर्शनी, घांटु, सोरठी,लाखे, टुकटुके,पञ्चैवाजा सहितको प्रदर्शनी गरिएको थियो ।