राजेन्द्र पाण्डेले दिए मुख्यमन्त्री पदबाट राजीनामा

412 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ— वागमती प्रदेशको मुख्यमन्त्रीको पद नछाडि प्रतिनिधि सभा सदस्य पदको शपथ लिएको भन्दै चौतर्फी विरोध भएपछि बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पाण्डेले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । पाण्डेले शुक्रबार प्रदेश प्रमुख समक्ष राजीनामा बुझाएका हुन् ।

बिहीवार मुख्यमन्त्रीबाट राजिनामा नदिई संघीय सांसद पदमा सपथ लिएपछि पाण्डेको उक्त कदमको सर्बत्र आलोचना भएको थियो । २०७४ को निर्वाचनमा नेकपा एमालेबाट धादिङ १ (१) वाट प्रदेश सभा सदस्यमा निर्वाचित पाण्डे नेकपा एमाले विभाजन गरेर बनेको नेकपा एकीकृत समाजवादी तर्फ लागेर २०७८ कात्तिकमा वागमती प्रदेशको मुख्य मन्त्रीमा नियुक्त भएका थिए । पाण्डे भन्दा अघि नेकपा एमालेका अष्टलक्ष्मी शाक्य र डोरमणि पौडेल मुख्य मन्त्री बनेका थिए ।

धादिङ जिल्लाबाट २०४३ साल देखि निरन्तर चुनावमा सहभागी हुंदै आएका पाण्डे,२०४८,२०५१,२०५६,२०७०,२०७४ मा धादिङबाट सांसद पदमा विजयी भएका थिए । २०६४ मा भने पाण्डे माओवादीका नेता शालिकराम जमकट्टृेल संग संविधान सभा सदस्यमा पराजित भएका थिए । पाण्डे २०४३ सालका जनपक्षिय राष्ट्रिय पञ्चायत सदस्यको उम्मेदवार बनेका थिए । जनपक्षिय उम्मेदवारमा पराजित पाण्डे २०४५ सालमा जिल्ला पञ्चायतको सभापतिमा विजयी भएका थिए ।
२०१३ साल जेठ २९ गते गजुरीमा जन्मिएका पाण्डे पूर्व स्थानीय विकास मन्त्री समेत हुन । उनी अहिले नेकपा (एस) को केन्द्रीय उपाध्यक्ष छन् ।