धादिङका शालिकराम जम्कट्टेल वागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

404 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, २५ पुस – वागमती प्रदेशको मुख्यमन्त्रीमा धादिङका शालिकराम जमकट्टेल नियुक्त हुनु भएको छ । प्रदेश सभामा माओवादी केन्द्रका  संसदीय दलका नेता जम्कट्टेल लाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त गनुृ भएको हो ।

धादिङ निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट प्रदेश सभा सदस्यमा नेपाली काँग्रेस नेत्तृत्वको गठवन्धनको समर्थनबाट चुनावमा विजयी जमकट्टेललाई मुख्य मन्त्री बन्ने बेलामा भने चुनावको मुख्य सहयात्री दल नेपाली काँग्रेसले समर्थन दिएको छैन । एमालेको २७, माओवादी केन्द्रको २१,राप्रपाको १३, समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ सहित ७० जनाको समर्थनबाट जमकट्टेल मुख्य मन्त्री चयन हुनु भएको हो ।

संविधान सभा सदस्य समेत रहनु भएका जमकट्टेल २०३० सालमा धादिङको किराञ्चोक गाविस वडा नम्बर ९ डाँडागाँउमा जन्मिनु भएको हो । २०४४ मा अखिल छैठौँमा आबद्ध भएर राजनीतिक जीवनको सुरूवात गर्नुभएका उहाँ २०४८ सालबाट मजदुर आन्दोलनमा सक्रिय भई माओवादीले थालेको शशस्त्र जनयुद्धमा २०५२ साल देखि लाग्नु भएको थियो ।२०६० बाट एक दशक माओवादीको मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघको अध्यक्ष हुनु भएका जमकट्टेल २०६३ मा अन्तरिम संसद भएर सिंह दरवार अर्थात संसदिय राजनितिमा प्रवेश गर्नु भएको थियो । पहिलो संविधानसभा निर्वाचन २०६४ मा धादिङ क्षेत्र नम्बर १ बाट तत्कालीन एमालेका नेता पूर्वमन्त्री राजेन्द्र पाण्डेलाई पराजित गर्दै संविधान सभा सदस्यमा विजयी हुनु भएको थियो । २०७० को दोस्रो संविधानसभामा भने जम्कटेल पाण्डेसँग पराजित हुनु भएको थियो । २०७४ मा पाण्डे र जम्कटेल दुवै जना प्रदेशसभामा विजयी हुनु भएको थियो ।

२०७४ मा भएको प्रदेशसभा निर्वाचनमा माओवादीबाट विजयी भएर संसदीय दलको नेता चुनिनु भएका जम्कटेल प्रदेशको पहिलो मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारमा आन्तरिक मामलिा तथा कानून मन्त्री तथा यसअघि कांग्रेसको नेतृत्वमा रहेको पाँचदलीय गठबन्धन बनेपछि राजेन्द्र पाण्डे नेतृत्वको सरकारमा आर्थिक मामिला मन्त्री बन्नु भएको थियो । जम्कटेलले कानूनमा स्नातक गर्नु भएको छ ।

मुख्य मन्त्रीमा नियुक्त जमकट्टेल नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य एवम धादिङ जिल्ला इन्चार्ज समेत हुनुहुन्छ ।