यसरी बनाउन सकिन्छ राष्ट्रिय परिचय पत्र

382 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

तपाईले राष्ट्रिय परिचयपत्र बनाउनका लागि आवेदन पेश गर्नु भयो, अहिले सम्म पेश गर्नु भएको छैन र कुन कुन काजगाज चाहिन्छ भन्ने कुरामा अलमलिनु भएको त छैन । त्यसो हो भने राष्ट्रिय परिचय पत्र बनाउन निम्न कागजातहरु आवश्यक पर्छन ।

सरकारले विद्युतीय राहदानी अर्थात ई पासपोर्ट बनाउन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेको छ जस्का कारण राष्ट्रिय परिचयपत्र बनाउन प्रशासन कार्यालयमा भिड लाग्ने गरेको छ । राष्ट्रिय परिचयपत्रका लागि देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट आवेदन दिएर नम्बर पाउन सकिन्छ ।

राष्ट्रिय परिचयपत्र कसरी बनाउने भन्ने सोचिरहनुभएको छ ? राष्ट्रिय परिचयपत्र आफ्नो जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालयमा बनाउन सकिन्छ ।

त्यसका लागि जिल्ला प्रशासन कार्यालयमा नै निवेदन दिन सकिन्छ । पासपोर्ट बनाउनका लागि जिल्ला प्रशासन कार्यालय जाँदा राष्ट्रिय परिचयपत्रका लागि पनि निवेदन दिन सकिन्छ । निवेदन दिएपछि राष्ट्रिय परिचय पत्र नम्बर तत्काल पाइन्छ ।

राष्ट्रिय परिचयपत्रको कार्ड बन्न समय लागे पनि नम्बर भने जिल्ला प्रशासन कार्यालयबाट निवेदन दिएकै बेलामा लिन सकिन्छ ।

लामो समयका लागि वैदेशिक रोजगारीमा जाने हो भने राष्ट्रिय परिचयपत्र नै लिँदा राम्रो हुन्छ । तर तत्कालै गइहाल्ने हो भने नम्बर मात्र पाइने भएकाले समस्या हुँदैन ।

१६ वर्ष माथिका र नेपालमा निवेदन दिनेहरूको हकमा राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको राहदानी विभागले जनाएको छ । विदेशबाट निवेदन दिने र १६ वर्षभन्दा कम उमेरका आवेदकहरूको  लागि भने राष्ट्रिय परिचय पत्र नभए पनि हुन्छ ।

प्रशासन कार्यालय बाहेक राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले स्थानीय तहहरुबाट समेत परिचयपत्रका लागि आवेदन दिन सकिने व्यवस्था गरेको छ । जस्ले गर्दा प्रशासन कार्यालयमा लाग्ने गरेको भिडमा केही कमी हुन थालेको छ ।

नेपाली नागरिकका लागि अनिवार्य गरिएको राष्ट्रिय परिचयपत्र बनाउन के के कागजता आवश्यक पर्छन भन्ने थाहा नहुँदा पनि कतिपयले आवेदन दिन सकिरहेका छैनन् । तपाई राष्ट्रिय परिचयपत्र बनाउने सोचमा हुनुहुन्छ , परिवारका कोही सदस्यको लागि परिचय पत्र बनाउन खोज्दै हुनुहुन्छ भने परिचय पत्रको आवेदन पेश गर्न आवश्यक पर्ने कागजातहरुको हामी यहाँ जानकारी दिदैछौं ।

यि हुन परिचय पत्रको आवेदन दिन आवश्यक कागजात
क) नेपाली नागरिकताको सक्कल प्रमाणपत्र
ख) बसाईसराई गरेको हकमा बसाईसराईको सक्कल प्रमाणपत्र (नागरिकतामा उल्लेख भएको स्थायी ठेगाना भन्दा फरक ठेगाना भएमा)
ग) विवाहितको हकमा नागरिकतामा पति वा पत्नीको नाम खुलेको भएमा सोहि प्रमाणपत्र अन्यथा विवाह दर्ता, विवाह प्रमाणितर नाता प्रमाणितको सक्कल प्रमाणपत्र ।
घ) नागरिकताको प्रमाणपत्रमा जन्म मिति नखुलेको हकमा जन्म मिति खुल्ने आधिकारिक प्रमाण (जन्म दर्ता, शैक्षिक प्रमाण पत्र, राहदानी, पेन्सन पट्टा)
ङ) विवरण पुष्टि हुने अन्य कागजातहरू
यति कागजात साथमा लिएर तपाईले आंफैले घर कार्यालयबाट अनलाइन मार्फत आवेदन दिन सक्नुहुनेछ । आंफैले फाराम भर्न नसक्नेहरुले नजिकैको साईबर तथा डेस्कटप सेन्टरहरुमा गएर सेवा दिन पनि सक्नुहुनेछ । अनलाइनमा भरेको बिबरणको फोटोकपी लिएर प्रशासन कार्यालयमा गएपछि तपाईको बिबरण रुजु गरेर बायोमेट्रिक गरेपछि तपाईले परिचय पत्रको नम्बर पाउनुहुनेछ ।परिचयपत्र लिन दर्ताका लागि भने व्यक्ति आफैं जानुपर्छ ।