गल्छी गाउँपालिकाद्वारा ५० प्रतिशत अनुदानमा किसानलाई कृषियन्त्र वितरण

298 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गल्छी -धादिङ, वैशाख २७ गते । कृषिमा बढ्दै गएको प्रविधिको प्रयोगलाई व्यवस्थित गरी  कृषिलाई आधुनिकीकरण गर्दै कृषि पकेट क्षेत्र विकास गर्न गल्छी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषियन्त्र वितरण सुरु गरेको छ । पचास प्रतिशत अनुदानमा खरिद गरिएका मिनीटिलर एक सय ४५ वितरण गरिएको कृषि प्राविधिक टीकाराम खतिवडाले जानकारी दिनुभयो ।

किसानले रु १३ हजार नौ सय तिरेर अनुदानमा पाएका सात हर्सपावरका पेट्रोलबाट चल्ने मिनीटिलर वडा नं ८ मा एक सय १२ जनालाई, वडा नं ७ मा चारलाई, वडा नं १ मा तीनलाई र वडा नं ५ मा १६ जनालाई वितरण गरिएको छ ।

यसैगरी किसानले रु २४ हजार दुई सय ५० तिरेर डिजेल इन्जिन सात हर्सपावर क्षमताको वडा नं ४ मा नौलाई र वडा नं ८ मा एक जनालाई वितरण गरिएको थियो । गाउँपालिकाले इबिडिङमार्फत बोलपत्र आह्वान गरेपछि ठेकेदार कम्पनीले पालिकामा सामग्री उपलब्ध गराएपछि किसानलाई वितरण सुरु गरेको हो ।

गाउँपालिकाले सात हर्सपावरका एक सय २८ डिजल इन्जिन मिनीटिलर वितरण गर्ने छ । किसानले रु १३ हजार पाँच सय तिरेर एक सय २५ थान कम्बाइन्ड मिल, रु छ हजार तिरेर १५ थान मकै छोडाउने मेसिन, ब्रस कटर, आठ किसानले रु चार हजार चार सय सात तिरेर १२ थान डिजिटल तराजु, किसानले रु छ हजार तिरेर दुई थान फुट स्प्रेयर, रु दुई हजार तिरेर चार थान मकै रोप्ने मेसिन र रु २४ हजार तिरेर ११ थान कोदो चुट्ने मेसिन वितरण गर्ने योजना रहेको खतिवडाले जानकारी दिनुभयो ।

 

पालिकाले ५० प्रतिशत व्यहोरेपछि किसानले ५० प्रतिशत रकम बुझाएर सामग्री लगेका हुन् । कृषि औजार वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष केदार खतिवडा, उपाध्यक्ष भाइकाजी तिवारीलगायतको सहभागिता थियो । कृषिलाई आधुनिकीकरण गर्दै कृषि पकेट क्षेत्र विकास गरी जनताको आम्दानी बढाउन कृषियन्त्र मागका आधारमा वितरण गरिएको गाउँपालिका अध्यक्ष खतिवडाले बताउनुभयो ।