डिजेलको मुल्य घटेपनि धादिङमा घटेन बस भाडा प्रहरी प्रशासन मौन भईदिंदा यातायात व्यवसायीको मनोमानी

219 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ -डिजेलको मुल्य घटे संगै यातायात व्यवस्था विभागले यात्रुवाहक तथा मालवाहक सवारीसाधनको भाडा दर घटायो । विभागले घटाएको भाडा दर अनुसार २५ किमि देखि २५० किमि दुरी सम्मका पक्की र ग्राभेल बाटोमा सञ्चालन हुने यात्रुवाहक बस, मिनिबसको लागि यस अघि कायम रहेको प्रति किमि प्रति व्यक्ति २ रुपैयाँ ९३ पैसालाई घटाएर २०८० जेठ ३ गते देखि लागु हुने गरी भन्दै प्रति किमि २ रुपैयाँ ८४ पैसा भाडा दर कायम गरेको थियो । विभागले भाडा दर घटाएपनि धादिङ जिल्लाबाट सञ्चालित यात्रुबाहक सवारीमा भने अझै सम्म पुरानै भाडा दर कायम रहेको छ । जस्का कारण दिनहुँ सयौं यात्रु ठगिन वाध्य भएका छन् ।
डिजेल र मट्टितेलको मूल्य १६५ रूपैयाँबाट १५५ रूपैयाँ प्रतिलिटरमा झरेपछि विभागले सार्वजनिक यातायातमा भाडा दर घटाएको छ । भाडा दर घटेको भनिए पनि धादिङ जिल्लाका सवारी साधनमा भने नयाँ भाडादर अझै पनि लागूहुन सकेको छैन ।
विभागले जेठ ३ गते सार्वजनिक सूचना प्रकाशित गर्दै लागू गरेको भाडा दर धादिङ जिल्लामा घटाउनेबारे स्थानीय प्रशासन, यातायात व्यवसायी, उपभोक्ता अधिकारका लागि काम गर्ने संस्था अन्य सरोकारवाला कुनै पनि पक्षले केही चासो देखाएका छैनन् ।
सरकार र यातायात व्यवसायीहरू मिलेर आम उपभोक्ताहरूलाई लुटिरहँदा पनि धादिङ जिल्लाका प्रहरी, प्रशासन,उपभोक्ता अधिकारकर्मी एक शव्द वोलेका छैनन् । मिडियाले पनि यस सवाललाई प्राथमिकतामा नराखेको भन्दै रुटिन अफ धादिङ सञ्जाल नामको फेसबुक पेजले निकै कडा शव्दमा प्रहार गरेपछि पत्रकार र मिडिया माथि आक्रोश पोख्नेहरुको संख्या बढिरहेको छ ।
यातायात व्यवसायीहरूले पेट्रोलियम पदार्थको मूल्य बढ्दा स्वचालित प्रणालीमा जाने शर्तमा यस अघि सार्वजनिक यातायातमा भाडा बढाएको भनिएपनि धादिङ जिल्लामा भने मनोमानी दर लागु हुंदै आएको थियो । डिजेलको मूल्य बढ्ना साथ भाडा बढाउने व्यवसायीहरुले मुल्य घट्दा भने कुनै चासो नदेखाउनु उपभोक्ता माथिको ठगि भएको सर्वसाधरणको गुनासो छ ।
छोटो दुरीको यातायात क्षेत्रमा व्यवसायीहरुको दादागिरीले हद नाघि सक्दा पनि कसैले विरोध जनाउन सकेका छैनन् । राज्य प्रणाली नै भ्रष्टाचारजन्य क्रियाकलापमा लागेको कारण आम नागरिक ठगिन बाध्य भएका हुन ।
सार्वजनिक यातायातको भाडामा ५ प्रतिशत वा सोभन्दा बढीले पेट्रोलियम पदार्थ बढेमा वा घटेमा समायोजन गर्नुपर्छ । २०७८ सालमा वैज्ञानिक भाडा दर समायोजन प्रणालीअनुसार स्वचालित रूपमा भाडा दर समायोजन हुने व्यवस्था गरिएको छ ।


चन्द्र तिमिल्सिना सामाजिक सञ्जालमा लेख्नुहुन्छ –‘लामो दुरि र छोटो दुरिको भाडादर पक्कै पनि फरक पर्दछ तर यति धेरै सर्वसाधारण लुट्ने अधिकार कसैलाई छैन ।
धादिङबेसि बाट सल्यानटार सम्म ३४ किलोमिटरको भाडा २७५ ( प्रती कि. मि रु ८.०८) पर्दछ भने काठमाडौ बाट काकडभिट्टा सम्म ६३६ किलोमीटरको भाडा १६८४ (प्रती कि। मि रु २.६५) दुबैबाटो कालोपत्रे सडक नै हो । यो बिषयमा सरोकारवालाहरु कसैले पनि चासो दिएको पाइएन धादिङ लगायत ग्रामिण क्षेत्रका सार्वजनिक यातायातमा संगठित भ्रष्टाचार मौलाएको छ । संबंधित निकायको समयमै ध्यान जाओस ।
डिजेलको भाउ २ रुपैयाँले वृद्धि हुँदा भाडा बडाउन तम्तयार हुने यातायात ब्यवसयिहरु २० रुपैयाले घट्दा चाहिँ किन मौन । ’
यसै गरी ६ किलोमिटर दुरीको भाडा १०० रुपैयाँ तिर्नु परेको दिनेश मगरको भनाई छ । त्यसै गरीे पनि १८ किलोमिटरको १ सय ५० रुपैयाँ तिरिरहेको मोतिराम थपलिया बताउँछन् । सुरज परियारका अनुसार ४ किलो मिटर सडकमा १०० रुपैयाँ भाडा तिर्नु पर्दछ । यि त केही उदाहरण मात्रै हुन । धादिङ जिल्लाको रुटमा भाडा दर अति महंगो भएको निकै भईसकेको छ ।