विनोद थापाको हत्या आरोपीत पुर्पक्षका लागि जेल चलान धादिङको गल्छी निबुवाबोटेमा होटल संचालकबाट भएको थियो ग्राहकको हत्या

685 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी
धादिङ, २५ जेठ – गएको बैशाख २७ गते धादिङको गल्छी गाउँपालिका–८, निबुवाबोटेमा भएको हत्याको घटनाका आरोपीहरूलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

होटेलमा खाजा खाएको पैसाको विषयमा विवाद हुँदा सोही होटल संचालकले स्थानीय विनोद थापा मगरलाई छुरा प्रहार गर्दा विनोदको मृत्यु भएको थियो ।

घटनामा संलग्न ४७ वर्षीया होटल संचालक सरस्वती पनेरु (पण्डित), उनका छोरा २६ वर्षीय निरज पण्डित र पाल्पा जिल्ला तानसेन नगरपालिका–१४ घर भई धादिङको गल्छी–८ मा बस्दै आएका किरन रानालाई छानविनका लागि बैशाख २८ गते पक्राउ परेका थिए ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार जेठ २४ गते भएको धादिङ जिल्ला अदालतको थुनछेक आदेशले तीनैजना आरोपीलाई पुर्पक्षको लागि कारागार कार्यालय धादिङ चलान गरिएको हो ।

थुनामा पठाईएका निरज पण्डित र किरण रानालाई विनोद थापा मगरको हत्या कसुर लगाईएको छ भने शानदार होटल एण्ड लजका सञ्चालक समेत रहेकी पनेरुमाथि भने मृतक विनोद थापामगरको हत्या तथा केटीहरूलाई डर, त्रास, प्रलोभनमा पारी वेश्यावृद्धी गराई मानव बेचबिखन गरेको कसुर समेत लागेको छ ।
हत्या कसरी भएको थियो ।

धादिङको गल्छी गाउँपालिका–८ कटवालपौवाका विनोद थापामगर बैशाख २७ गते राति केही साथी लिएर खाजा खान गाउँ नजिकैको निबुवाबोटेस्थित शानदार होटेल एण्ड लजमा होटेलमा पुगेका थिए । खाजा खाईसकेपछि पुरानो बाँकी पैसाको विषयमा दुई पक्ष बिच भनाभन हुन थाल्यो ।

होटेल सञ्चालिका सरस्वती सँग विनोदको केहीबेर चर्काचर्की विवाद चल्यो । विवादपछि पण्डितले आफ्ना छोरा निरजलाई तत्काल होटलमा बोलाइन । साथी किरण रानामगरलाई समेत लिएर होटेल पुगेका निरजले विनोदलाई सुरुमा पाँच–सात मुक्का प्रहार गरे । त्यसपछि आफूले साथमा ल्याएको फोल्डिङवाला छुरा प्रहार गरेर विनोदलाई गम्भिर घाइते बनाए । निकै गम्भिर अबस्थामा रहेका विनोदलाई होटल वाहिर सडक छेउमा निकालेपछि निरजले मोटरसाइल कुदाएर विनोदको घाईते शरिर माथि थप चोट पटक पु¥याए । स्थानीयले घटनाको बारेमा थाहा पाएपछि विनोदलाई उपचारका लागि तत्काल उद्धार गरी काठमाडौंको नर्भिक अस्पताल लगियो ।
विनोदको उपचारका क्रममा नर्भिक अस्पतालमा बैशाख २८ गते बिहीबार बिहान पौने दुई बजे तिर मृत्यु भएको अस्पतालले जानकारी दियो । विनोदको मृत्युभएको खबर आएपछि विहिबार विहानै देखि आक्रोशित स्थानीयवासीले होटलमा तोडफोड र आगजनीको प्रयास गर्नुका साथै गल्छी त्रिशूली सडक अबरुद्ध गरेर हत्यामा संलग्न भएकालाई पक्राउको माग ग¥यो । हत्याका बिषयलाई लिएर स्थानीयको आक्रोश बढ्दै गएपछि प्रहरीले बैशाख २८ गते आरोपित तीनै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको थियो ।
घटनामा प्रयोग भएको छुरा घटनास्थलदेखि ३० मिटर उत्तरतर्फ त्रिशूली नदीको किनारमा फेला पारिएको थियो । पक्राउ परेका तिनैजनालाई कर्तव्य ज्यान मुद्दामा धादिङ जिल्ला अदालतबाट म्याद थप अनुमती लिई अनुसन्धान गर्दै आएको प्रहरीले अनुसन्धान पुरा गरी जिल्ला सरकारी वकिल कार्यालय मार्फत जेठ २४ गते जिल्ला अदालत पेश गरेकोमा अदालतले तीनै जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।