जनप्रतिनिधिको स्वार्थ नमिल्दा मुख्यमन्त्रीको गाउँमा शिक्षक नियुक्तिमा ढिलाई

574 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, २७ जेठ ः शिक्षा जस्तो महत्वपूर्ण क्षेत्रमा जनप्रतिनिधिको स्वार्थ हावी भयो भने त्यस्को परिणाम कस्तो देखिएला ? आफ्नो निकटको व्यक्ति परीक्षामा फेल भएपछि धादिङको गजुरी गाउँपालिकामा एक माध्यमिक बिद्यालयको शिक्षकको परीक्षाफल प्रकाशनमा ढिलासुस्ती गरेर जनप्रतिनिधिले आफ्नो स्वार्थ हावी गर्न चाहेका छन् ।
गाउँपालिका अध्यक्ष र सम्वन्धित वडाका अध्यक्षले चाहेको व्यक्ति परीक्षाको पहिलो चरणमै फेल भएपछि धादिङको गजुरी गाउँ पालिकाको किराञ्चोक कटुञ्जे माविको शिक्षकको परिक्षाफल रोकिएको हो ।

गजुरी गाउँपालिका वडा नम्बर ७ मा रहेको किराञ्चोक कटुञ्जे माविका लागि शिक्षक चयन गर्न लिइएको परिक्षा सकिएको महिना दिन वित्दा पनि परिणाम सार्वजनिक गरिएको छैन ।

बिद्यालयमा नेपाली र गणित तथा विज्ञान विषयका लागि २ जना छुट्टाछुट्टै शिक्षक आवस्यकता भएको भन्दै विद्यालयले गत बैशाख १४ गते करारमा शिक्षक भर्ना गर्नका लागि सार्वजनिक सूचना जारि गरेको थियो । शिक्षा विकास तथा समन्वय इकाइको स्वीकृति अनुसार विद्यालयले सूचना जारी गरेर शिक्षक माग गर्दा गणित तथा विज्ञान विषयमा एक जनाकोमात्र निवेदन परेको थियो भने नेपालीका लागि ७ जनाले प्रति व्यक्ति १ हजार ५ सय रुपैयाँ आवेदन दस्तुर तिरेर दरखास्त दिएका थिए ।

बैशाख २८ गतेसम्म दरखास्त लिएको बिज्ञापनकाृ लागि शिक्षक छनौट कार्यविधि अनुसार प्रथम पत्रको परीक्षा लिंदा ७ जनाबाट २ जना मात्रै उत्तिर्ण भएका थिए । प्रथम पत्रको परीक्षा उत्तिर्ण भएपछि द्वितिय पत्रको परिक्षामा अस्मिता ढुंगाना र सुनमाया शाक्य मात्रै सहभागी भएका थिए । परीक्षा सकिएको महिना दिन वित्दा पनि नजिता वाहिर नआउँदा सामाजिक सञ्जाल मार्फत व्यापक विरोध भईरहेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्री जमकटेल बागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जमकट्टेलका आफ्नै भाई हुन । बद्री माओवादीका स्थानीय नेता समेत हुन । गाउँपालिका अध्यक्ष श्रेष्ठ र वडा अध्यक्ष जमकट्टेल दुवै जना माओवादी केन्द्रबाट विजयी भएका जनप्रतिनिधि हुन । मुख्य मन्त्रीको गाउँमा भएको यो घटनालाई राजनैतिक स्वार्थमा केन्द्रित रहेको भन्दै व्यापक विरोध भईरहेको छ ।
विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले विज्ञ समेत राखेर तत्कालिन अवस्थामा प्रश्न निर्माण गरि परिक्षा लिइएको थियो । पहिलो पत्रको परिक्षामा नेपालीमा २ जना र गणित तथा विज्ञानमा एक जना उतिर्ण भएकोसूचना आएपछि दोश्रो पत्रको परिक्षा बैशाख ३१ गते नै लिइएको र हालसम्म पनि नतिजा रोकिएको परीक्षामा सहभागि अस्मिता ढुंगानाले बताईन ।

२० जनासम्मको पनि परिक्षा एकैदिन परिणाम सार्वजनिक समेत गर्ने र त्यभन्दा बढी भए २ दिनमा सबैको परीक्षा लिएर अन्तिम नतिजा निकाल्ने गरिएकोमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जमकट्टेल र पालिका अध्यक्ष श्रेष्ठको नातेदार तथा पार्टी कार्यकर्ता कोही पनि पहिलो पत्रको परिक्षामा उत्तिर्ण नभएपछि एकमहिनासम्म परिक्षाफल रोकिएको स्थानीय एक अभिभावकले वताए ।

विद्यालय व्यवस्थापन समितिले शिक्षक पदपूर्ति समितिको काम अघि नबढाएका कारण एक महिना पुग्नलाग्दा समेत परिणाम नआएको र आफूले यस विषयमा केही निर्णय दिन नमिल्ने गजुरी गाउँपालिका शिक्षा शाखाका अधिकृत भिमसेन विष्ट बताउँछन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जमकट्टेलले छिट्टै समाधान गरिने बताउँदै अस्पष्ट जवाफ दिएका छन् ।
शिक्षक छनौटका लागि विज्ञ बोलाएर व्यवस्थापन समितिका अध्यक्षकै रोहबरमा प्रश्न झिकेर परिक्षा लिइएकोमा परिक्षा नै रोकिएकोमा अभिभावकहरु समेत आक्रोशित भएका छन् ।

विद्यालयमा शिक्षक नियुक्त गर्न ढिलाई हुंदा पढाइ प्रभावित भइरहेकोले जति सक्दो छिटो शिक्षक नियुक्तिका लागि व्यवस्थापन समितिलाई आग्रह गरिरहेको विद्यालयका प्रधानाध्यापक दिपेन्द्र भण्डारीले बताए ।