आजदेखि यी २० सरकारी कार्यालयले दिने सेवा प्रभावित

351 पटक पढिएको

१२ श्रावण २०८०, शुक्रबार १९:५० सम्पादक: धादिङ न्यूज

काठमाडौँ । पशु सेवा विभाग अन्तर्गतका २० वटा सरकारी कार्यालयले दिने सेवा आजदेखि प्रभावित भएको छ ।

ती कार्यालयमा कार्यरत ३ सय ५० भन्दा बढी सरकारी कर्मचारी कामविहीन भएका छन् ।

कृषि तथा पशुपंछी विकास मन्त्रालयमा हिजो बसेको सचिवस्तरीय बैठकले तत्काललाई ८ वटा पशु क्वारेन्टाईन, केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, ५ ओटा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, केन्द्रीय रेफरल पशु चिकित्सालय, राष्ट्रिय खोप उत्पादन प्रयोगशाला, सार्क क्षेत्रीय सहयोग ईकाई कार्यालय बजेट अभावमा सेवा दिन नसक्ने अवस्थामा पुगेका हुन् ।

त्यसैगरी खोरेत तथा सिमाविहीन रोग अन्वेषण प्रयोगशाला, भेटेरिनरी गुणस्तर तथा औषधि नियमन प्रयोगशाला र राष्ट्रिय पन्छीरोग अन्वेषण प्रयोगशालाहरूको सेवा अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरिएको हो ।

ती कार्यालयहरूको सेवा बन्द बन्द गरिँदा नेपालमा उत्पादन भइरहेका १३ प्रकारको खोपको उत्पादनसमेत प्रभावित हुने र करोडौँको खोप खेर जाने सम्बन्धित कार्यालयका कर्मचारीको भनाइ छ ।

कृषि मन्त्रालयका सचिव दीपककुमार खरालले यी विषयमा सरकार गम्भिर रहेकाले छिट्टै टुङ्ग्याउने बताए।

बजेटमा सरकारले एकै प्रकृतिका सरकारी कार्यालय आपसमा गाभ्ने नीतिअनुसार पशु सेवा विभाग अन्तर्गतका २० वटा कार्यालयका लागि बजेट विनियोजन भएको छैन ।

जसका कारण कार्यालयको नियमित सेवा प्रभावित भएको भन्दै कार्यालय प्रमुखको टोली मन्त्रालयमा नै गएर सरकारको ध्यानाकर्षण गराएको थियो ।