कोशी प्रदेशमा कांग्रेसका थापा नै फेरि मुख्यमन्त्रीमा दोहोरिए

105 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौ। । कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले आज थापालाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनै पर्ने संवैधानिक व्यवस्था छ । मुख्यमन्त्रीमा नियुक्त भएपछि थापालाई विश्वासको मतका लागि राप्रपाको समर्थन अपरिहार्य हुन्छ । तर राप्रपाले गठबन्धनको सरकारलाई समर्थन नगर्ने प्रस्ट पारिसकेकाले उहाँको सरकार ३० दिनका लागिमात्रै हुने देखिएको छ ।

सरकार गठनका लागि ९३ सदस्यीय प्रदेशसभामा ४७ सांसदको समर्थन आवश्यक छ । तर गठबन्धन दल कांग्रेसका २९, माओवादीका सभामुख बाहेक १२, नेकपा एसका ४ र जनता समाजवादी पार्टीका एक गरी ४६ मात्रै सांसद रहेकाले सभामुख गौतमलाई राजीनामा गराएर बहुमत पुर्‍याएको हो ।

एमालेको ४० र राप्रपाको ६ प्रदेश सांसद छन् । सभामुख गौतमले राजीनामा नदिएको अवस्थामा सरकार गठनका लागि गठबन्धन दलको बहुमत नपुग्ने र त्यसपछि संविधानको धारा १६८ को उपधारा (३) अनुसार एमालेका नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार गठन हुने भएकाले प्रधानमन्त्री पुष्पकमल दाहालको पहलमा गौतमले पदबाट राजीनामा दिन सहमत हुनुभएको हो ।