माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक आज पनि बस्ने
133 पटक पढिएको
नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटीको बैठक आज पनि जारी रहनेछ। बुधबारको बैठकमा मौखिक प्रतिवेदन पेश गर्नुभएका पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज लिखित प्रतिवेदन ल्याउने बताईएको छ
पार्टीको राजनीतिक तथा संगठनात्मक प्रतिवेदन सदस्यहरुलाई वितरण नै नगरी बुधबारदेखि केन्द्रीय सदस्यहरुले धारणा राख्न सुरु गरिसकेका छन् ।
केन्द्रिय कमिटिको बैठकमा बुधबार १८ जना सदस्यहरुले धारणा राखे । पहिलो दिन बोल्न ७४ जनाले नाम टिपाएकोमा १८ जनाले मात्रै बोल्न भ्याएका हुन् । प्रत्येक सदस्यलाई बोल्न पाँच मिनेट समय दिइएको छ । केन्द्रीय सदस्यहरुले पार्टीलाई रुपान्तरण गर्न ढिलो भइसकेको र त्यसको सुरुवात अध्यक्ष दाहालबाटै हुनुपर्ने बताएका छन्
पूर्व विद्यार्थी नेता हिमाल शर्माले अध्यक्ष प्रचण्डलाई चुनावमार्फत नेतृत्वमा स्थापित हुन सुझाव दिनुभयो । विना प्रतिस्पर्धा ३५ वर्षभन्दा बढी समयदेखि मुख्य नेतृत्वमा रहनुभएका दाहाललाई अब प्रतिस्पर्धा गर्न शर्माले आग्रह गनुृभयो यस्तै, अर्का केन्द्रीय सदस्य कृष्ण केसीले माओवादी नेता कार्यकर्ताको जीवनशैलीमाथि प्रश्न उठाउनुभयो । जीवनशैलीलाई पारदर्शी बनाउन सुझाव दिँदै केसीले २०४६ पछिका भ्रष्टाचारका फाइल खोल्न पार्टी नेतृत्वको सरकारलाई आग्रह गर्नुभयो ।
यस्तै, अर्का केन्द्रीय सदस्य लक्ष्मण पन्तले नारायणहिटीबाट हटाएको सामन्तवाद बालुवाटार सरेको भन्दै नेतृत्वको कटू आलोचना गर्नुभयो ।