इजरायलबाट फर्किन चाहने नेपालीहरूलाई सरकारले स्वदेश ल्याउने

189 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । सरकारले इजरायलबाट फर्किन चाहने नेपालीहरूलाई स्वदेश ल्याउने भएको छ । त्यसका लागि परराष्ट्र मन्त्रालय, तेल अभिभस्थित नेपाली राजदूतावास र इजरायल सरकारको समन्वयमा अनलाइन रजिस्ट्रेशनको तयारी भइरहेको छ।

परराष्ट्र मन्त्रालयले आइतबार राती जारी गरेको प्रेस विज्ञप्तिमा छ, ‘इजरायलबाट स्वदेश फर्कन इच्छुक नेपाली नागरिकहरूको विवरण संकलनको लागि परराष्ट्र मन्त्रालय, तेल अभिभस्थित नेपाली राजदूतावास र इजरायल सरकारको समन्वयमा अनलाइन रजिस्ट्रेशनको तयारी भइरहेको छ।’

तेल अभिभस्थित नेपाली राजदूतावास र परराष्ट्र मन्त्रालयका अधिकारीहरूको सम्पर्क विवरणहरू उपलब्ध गराइएकोले उनीहरू मार्फत आवश्यक जानकारी लिन र सम्पर्कमा रहन मन्त्रालयले अनुरोध गरेको छ ।

१० मृतकहरूको शव पहिचान गरी यथाशक्य छिटो नेपाल ल्याउन एवं घाइतेहरूको उद्धार र उचित उपचारको प्रबन्ध गर्न इजरायल सरकार समक्ष अनुरोध भइसकेको मन्त्रालयले जनाएको छ। ‘पछिल्लो आक्रमणमा परी १० जना नेपाली नागरिकहरूले ज्यान गुमाएका, एक जना सम्पर्क विहीन रहेका र केही घाइते अवस्थामा रहेका पुष्टि भएको छ।

मृतकहरूको शव पहिचानको गर्ने कार्य अन्तिम चरणमा रहेको छ’ विज्ञप्तिमा छ, ‘मृतकहरूको शव पहिचान गरी यथाशक्य छिटो नेपाल ल्याउन एवं घाइतेहरूको उद्धार र उचित उपचारको प्रबन्ध गर्न इजरायल सरकार समक्ष अनुरोध भइसकेको छ।’

हाल तेल अभिभस्थित विमानस्थल सामान्य रुपमा सञ्चालनमा रहेको र हवाई मार्ग मार्फत आवत जावत सुचारू भइरहेको जानकारी समेत प्राप्त भएको उल्लेख छ ।

इजरायलमा विकसित पछिल्लो घटनाक्रमका सम्बन्धमा प्रधानमन्त्रीज्यूको अध्यक्षतामा बसेको बैठकले परराष्ट्रमन्त्रीको संयोजकत्वमा एक समन्वय संयन्त्रको गठन गरेको छ । उक्त संयन्त्रले इजरायलमा रहेका नेपाली नागरिकहरूको संरक्षण र उद्धार गर्न आवश्यक पहल गरिरहेको छ। ‘यस सम्बन्धमा परराष्ट्र मन्त्रालयले तेल अभिभस्थित नेपाली राजदूतावासलाई आवश्यक निर्देशन दिनुका साथै निकायगत समन्वय पनि गरिरहेको छ।

द्वन्दग्रस्त क्षेत्रबाट नेपालीहरूको यथाशीघ्र उद्धार गर्न नेपाल सरकार पूर्ण रुपमा प्रतिबद्ध रहेको छ’ मन्त्रालयले भनेको छ। ‘यस कठिन परिस्थितिमा इजरायलमा रहेका सम्पूर्ण नेपालीहरूलाई सजगता अपनाउन र नेपाली राजदूतावाससँग सम्पर्कमा रहन परराष्ट्र मन्त्रालय सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछ’ विज्ञप्तिमा छ ।