परराष्ट्रले आजदेखि नियमित प्रेस ब्रिफिङ गर्ने, इजरायलमा रहेका नेपालीकोबारे जानकारी गराउने

92 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । सरकारले आजदेखि इजरायलमा रहेका नेपालीको अवस्थाबारे जानकारी गराउन नियमित प्रेस ब्रिफिङ गर्ने भएको छ ।

हमासको आक्रमणपछि इजरायलयमा रहेका नेपालीको अवस्था, उद्धारको प्रक्रिया, शव नेपालमा ल्याउन चालिएको कदमसहितका विषयमा जानकारी गराउन परराष्ट्र मन्त्रालयले नियमित प्रेस ब्रिफिङ गर्न लागेको हो ।

प्रेस ब्रिफिङ अपराह्न साढे ४ बजे हुने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म ३ सय बढीले अनलाइन रजिस्ट्रेसनमार्फत विवरण उपलब्ध गराएका छन् । उनीहरूमध्ये अधिकांशले नेपाल फर्किन चाहेको बताएका छन् भने बाँकीले सुरक्षित स्थानमा स्थानान्तरण हुन चाहेको बताएका छन् ।

असोज २० गते हमासको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । यसैबीच इजरायलमा हमास समूहले गरेको आक्रमणमा परेर घाइते भएका ४ जना नेपालीको अवस्थामा सुधार आएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।

दुताबासले जारी गरेको विज्ञप्तीमा सम्पर्कविहीन रहेका एकजना नेपाली विद्यार्थीको खोजिकार्य भइरहेको जनाएको छ । उनलाई खोज्न प्रहरी, अस्पतालसहित उपलब्ध सबै स्थानीय तथा कूटनीतिक संयन्त्रको सहयोग लिइरहेको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।