जोखिम थप बढेको भन्दै इजरायलमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

377 पटक पढिएको

२७ आश्विन २०८०, शनिबार १७:०५ सम्पादक: धादिङ न्यूज

काठमाडौं। इजरायलमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह गरिएको छ। इजरायलस्थित नेपाली दूतावासले स्थिति सामान्य नबन्दासम्म सुरक्षित स्थानमा बस्न र घरबमाहिर ननिस्कन आग्रह गरेको हो।

दूतावासले आज एक सूचना जारी गर्दै पछिल्लो समय गाजा आसपाससहित इजरायलको दक्षिणी तथा उत्तरी सीमा क्षेत्रमा जोखिम थप बढेको बताएको छ ।

दूतावासको सूचनामा उल्लेख गरिएको छ,“इजरायल सरकारद्वारा ती क्षेत्रमा रहेकालाई सुरक्षित क्षेत्रतर्फ जान सुझाएकाले यदि तपाइँ रहेको क्षेत्रमा समेत असुरक्षा बढ्दै गएको स्थिति छ भने आफ्नो रोजगारदातासँग सल्लाह गरी त्यहाँबाट बढी सुरक्षित स्थानतर्फ सर्नुहोला ।”

स्वदेश फर्कन चाहनेहरूले राजदूतावासबाट सुरु गरिएको अनलाइन रजिष्ट्रेशन फर्म अनिवार्य भर्न आग्रह गरेको दूतावासले सुरक्षित आश्रयस्थल नभएकाहरूलाई पनि खबर गर्न आग्रह गरेको छ।

नेपाल सरकार,इजरायल सरकार र विभिन्न आधिकारिक निकायका सूचना एवं स्थानीय सुरक्षा प्रोटोकलको पालना गर्दै दूतावासको सम्पर्कमा रहन पनि दूतावासले भनेको छ।