गैरआवासीय नेपाली नागरिकता प्रमाणपत्र आजदेखि वितरण
144 पटक पढिएको
काठमाडौं । गैरआवासीय नेपाली नागरिकता प्रमाणपत्र आजमंगलबारदेखि विधिवत् रूपमा वितरण थालिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनआरएनएका अध्यक्ष कुल आचार्यलाई पहिलो नागरिकता प्रदान गर्दै सो वितरणको शुभारम्भ गर्नुभयो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित एक विशेष समारोहमा नागरिकताको प्रमाणपत्र वितरण गरिएको हो । जिल्ला प्रशासन कार्यालय पर्वतबाट ८ असोज २८ गते जारी गैरआवासीय नेपाली नागरिकता प्रधानमन्त्रीको हातबाट आचार्यलाई प्रदान गरियो ।
यस्तै, जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट असोज २९ गते जारी गैरआवासीय नेपाली नागरिकता एनआरएनएका कार्यकारी अध्यक्ष डा. बद्री केसीलाई प्रदान गरियो । योसँगै गैरआवासीय नेपालीलाई सो नागरिकता प्राप्त गर्ने बाटो खुलेको छ ।
सो नागरिकता लिएपछि अध्यक्ष आचार्यले सम्पूर्ण गैरआवसीय नेपाली समुदायका लागि यो गौरव, हर्ष र सफलताको क्षण भएको बताउनुभयो । उहाँले सरकार र राजनीतिक दलहरूलाई धन्यवाद दिनुभयो ।