हमासको आक्रमणमा परी मृत्यु भएका थप एकजन विद्यार्थीको शव नेपाल ल्याइयो

96 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका नेपाली विद्यार्थीमध्ये थप एक विद्यार्थीको शव आज नेपाल ल्याइएको छ ।

नेपाल ल्याइएको शव बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपालीको रहेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले जानकारी दिनुभयो । उहाँका अनुसार फ्लाई दुबईको विमानमार्फत आज बिहान ७ बजे उनको शव ल्याइएको हो ।

इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका १० विद्यार्थीमध्ये हालसम्म पाँचजनाको शव नेपाल ल्याइएको छ । बाँकी पाँचजनाको शव ल्याउन सम्बद्ध नातेदारको डीएनए संकलन गरी पठाइएको र अन्य शव पनि चाँडै नेपाल ल्याइने उहाँले बताउनुभयो ।

हालसम्म नेपालीसहित दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ–३ का आशिष चौधरीको शव ल्याइसकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

गत असोज २० गते हमास समूहको आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । सोही आक्रमणमा परी कञ्चनपुर भीमदत्त–३ का विपीन जोशी सम्पर्कविहीन रहेका छन् । उनको खोजी भइरहेको छ ।