आज खण्डग्रास चन्द्रग्रहण लाग्ने, कुन-कुन देशबाट देखिन्छ ?

148 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । आज खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार राति १ बजेर १९ मिनेटमा चन्द्रग्रहण लाग्ने भएको छ । पृथ्वीको छाँया चन्द्रमामा पर्दा चन्द्र ग्रहण लाग्ने गर्दछ ।

चन्द्रग्रहणको सुतक भने आज दिउँसो ४ बजेर १९ मिनेटदेखि सुरु हुनेछ । त्यसैगरी ग्रहण राति २ बजेर ३८ मिनेटमा समाप्त अर्थात मोक्ष हुने समितिले जनाएको छ । ग्रहण लागेको बेला बालबालिका, वृद्ध र बिरामीबाहेकले खाना खान र सुत्न नहुने, स्नान ध्यान र मन्त्र पाठ गर्दा लाभ हुने पनि समितिले जनाएको छ । यो खण्डग्रास चन्द्रग्रहण नेपालका सबै भागबाट देख्न सकिनेछ । यस्तै, एसिया, युरोप, अफ्रिकाका सबै भागबाट र अस्ट्रेलिया तथा उत्तर र दक्षिण अमेरिकाका केही ठाउँबाट पनि ग्रहण देखिनेछ ।

आज लाग्ने खण्डग्रास चन्द्रग्रहण विसं २०८० मा लाग्ने एउटै मात्रै ग्रहण भएको समितिले जनाएको छ । गत वर्ष कात्तिक ८ गते सूर्यग्रहण र २२ गते चन्द्रग्रहण लागेको थियो । गत वर्ष चान्द्रमास अनुसार कार्तिक कृष्ण औंसीमा सूर्यग्रहण र कार्तिक शुक्ल पूर्णिमामा चन्द्रग्रहण लागेको थियो । सूर्यग्रहण औंसी र चन्द्रग्रहण पूर्णिमामा लाग्ने गर्छ ।