टिकटक नेपालमा प्रतिवन्ध गर्न लगाईएको सरकारी आरोपमा भेटिएन सत्यता नेपालका सरकारी निकायहरूसँग भएका समझदारीबारे टिकटकले गरायो स्मरण
224 पटक पढिएको
१ मंसिर शुक्रवार ,२०८० ।
काठमाण्डौं । चिनियाँ प्रविधि कम्पनीद्धारा सञ्चालित लोकप्रिय सामाजिक सञ्जाल टिकटकमा बढ्दै गएको विकृति रोक्न नेपाल सरकारले दिएको निर्देशन नटेरेको भन्ने सरकारी दावी झुटो सावित भएको छ । टिकटक मुख्यालयले नेपाल सरकारलाई पत्र लेखेर नेपालका सरकारी निकायहरूसँग भएका समझदारी तथा नेपालमा भएका छलफलहरूबारे सातवटा बुँदामा स्मरण गराएको छ । सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएकै दिन गत सोमवार टिकटकले नेपाल दूरसञ्चार प्राधिकरणलाई उक्त पत्रपठाएको हो ।
सरकारले गत सोमवार “सामाजिक सद्भाव र वातावरणमा खलल पुर्याउन भूमिका खेलेको” भन्दै सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियो।
त्यसलगत्तै प्राधिकरणले नेपालका इन्टरनेट सेवाप्रदायकहरूलाई टिकटक नचल्ने बनाउन निर्देशन दिएको थियो। प्रयोगकर्ताहरूले विभिन्न विकल्पको प्रयोग गरी त्यसको प्रयोग भने गरिरहेका छन् ।
टिकटकको दक्षिण एसियाका लागि सार्वजनिक नीति तथा सरकारसँगको सम्बन्ध हेर्ने विभागका प्रमुख फर्डोस मोटाकिनको हस्ताक्षर रहेको पत्र नेपालको दूरसञ्चार प्राधिकरणलाई पत्र पठाउँदै उक्त प्लेटफर्मलाई बन्द गर्ने सरकारको निर्णयबाट आफू ‘चकित परेको’ टिकटकले जनाएको छ।
प्रयोगकर्ताको सुरक्षा टिकटकको सबैभन्दा महत्त्वपूर्ण प्राथमिकता भएको बताउँदै नेपालमा भएका र नेपालका सरकारी निकायसँग गरिएका समझदारीहरूको स्मरण गराउने सातवटा बुँदा पनि उल्लेख गरेको छ।
उसले नेपालमा संयुक्त रूपमा नेपालमा इन्टरनेट सुरक्षा सचेतना अभियान सञ्चालन गर्न नेपाल दूरसञ्चार प्राधिकरणसँग एउटा समझदारी गरेको पनि उल्लेख गरेको छ।
त्यस्तै उसले यसै वर्षको गत जुन ७ मा नेपाल सरकारका लागि स्थानीय कानुनको उल्लङ्घन भएको कुनै पनि सामग्रीबारे रिपोर्ट गर्न सकोस् भनेर ‘ट्रस्ट एन्ड सेफ्टी इन्फोर्समेन्ट टुल (टीएईटी)’ को पहुँच दिएको पनि उल्लेख गरेको छ।
टिकटकले गत अगस्ट २९ मा आफू नेपालमा डिजिटल सेवा करदाताको रूपमा दर्ता पनि भएको स्मरण गराएको छ।
त्यस्तै उसले सन् २०२२ को अक्टोबरदेखि गत जुनसम्ममा टिकटकको ‘कम्युनिटी गाइडलाइनहरू’ उल्लङ्घन गरेका २९ लाख ८० हजार भिडिओहरू नेपालमा आफ्नो प्लेटफर्मबाट हटाएको जनाएको छ।
टिकटकलाई प्रतिबन्ध लगाउने निर्णय ‘आफूसँग’ नेपाल सरकारले निरन्तर संलग्न भएर काम गर्ने भनी गरेको सहकार्यको प्रस्ताव विपरीतको भएको पनि उसले उल्लेख गरेको छ।
यद्यपि उसले आफू नेपाल सरकारसँग निरन्तर सहकार्य गर्न र आवश्यक प्रावधानहरू गरेर काम गर्न तत्पर रहेको बताएको छ।
टिकटकमाथिको प्रतिबन्ध वाक् र अभिव्यक्ति स्वतन्त्रताको सिद्धान्तसँग मेल नखाने खालको भएको पनि टिकटकको भनाइ छ।