१४ किलाे सुनसहित त्रिभुवन विमानस्थलबाट २ जना पक्राउ

189 पटक पढिएको

सम्पादक: Dhading News

काठमाण्डौ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विमानस्थलबाट १४ किलो सुनसहित २ जनालाई पक्राउ गरेको छ । कार्यालयको टोलीले गए राति फ्लाई दुबईको उडान नम्बर एफजेड–५७३ बाट आएका गोरखाका मीनबहादुर घले र अर्का एक जनालाई पक्राउ गरेको हो ।

कार्यालयका भन्सार अधिकृत रमेश कुँवरले घलेले छातीको दायाँबायाँ कपडामा बेरेर लुकाइछिपाइ ल्याएको ७ थान बिस्कुट आकारको १४ किलो सुनसहित पक्राउ गरेको जानकारी दिनुभयो ।

काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले घलेको सूचनाका आधारमा थप १ जनालाई पक्राउ गरिएको बताउनुभयो । पक्राउ परेका घलेलाई निकासी पैठारी नियन्त्रण ऐन २०१३ र भन्सार ऐन २०६४ अन्तर्गत भन्सार महसुल छली तथा चोरी पैठारी कसुर गरेकाले थप अनुसन्धानका लागि कार्यालय खुलेसँगै त्रिभुवन विमानस्थल कार्यालय गौचरनमा बुझाउने गरी प्रहरी प्रभाग कोटेश्वरको जिम्मा लगाएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताउनुभयो ।