रुसी सेनामा नेपाली युवा भर्ना पुग्नु चिन्ताको विषय: प्रधानमन्त्री प्रचण्ड

361 पटक पढिएको

२७ मंसिर २०८०, बुधबार १६:२९ सम्पादक: धादिङ न्यूज

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा नेपाली युवा भर्ना पुग्नु चिन्ताको विषय भएको बताउनुभएको छ।

आज काठमाडौँ विश्वविद्यालयको २९ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विभिन्न बाध्यताका कारण २ सय भन्दा बढी नेपाली युवाहरू रुसी सेनामा भर्ना भएको खबर आउनु चिन्ताजनक भएको पनि बताउनुभयो।

प्रधानमन्त्रीले भन्नुभयो, ‘अहिले विभिन्न बाध्यताका कारण २०० भन्दा बढी नेपाली युवाहरू रुसी सेनामा भर्ना भएको जुन खबर आएको छ, त्यो चिन्ताजनक छ र सरकार तिनलाई सकुशल फिर्ता ल्याउन हर सम्भव प्रयास गरिरहेको छ।’

उहाँले भर्ना भएका युवाहरूलाई सकुशल फिर्ता गर्न सरकारले हर सम्भव प्रयास गरिरहेको पनि बताउनु भएको छ। उहाँले नेपालमा अवसर छैन भन्ने भाष्य निर्माणको परिणामस्वरूप नेपाली युवा विदेशमा अनेक हन्डर खान बाध्य भएको बताउनुभयो। प्रधानमन्त्रीले नेपालमै अवसर रहेको र स्वदेशमै काम गर्न सकिने दावी गर्नुभयो ।