पाँचथरका मकरबहादुर बम्जनले फलाए १६८ मुरी धान, गाउँपालिकाले दियो ५० हजार रुपैयाँ

100 पटक पढिएको

सम्पादक: Dhading News

पाँचथर । पाँचवटा खेतमा फलेको १ सय ६८ मुरी धान जोख्ने काम सकिएपछि पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ लाक्सिबुङका मकरबहादुर बम्जनको घरमा बुधवार स्थानीयवासी, जनप्रतिनिधि र कर्मचारीको घुइँचो थियो । गलामा माला लगाएका मकरबहादुर अतिथिको सत्कारमै व्यस्त हुनुहुन्थ्यो । सबैलाई ‘एकछिन बस्न र चिया खाएर जान’ आग्रह गर्दैमा मकरबहादुरको समय बितिरहेको थियो । भान्सामा चिया र नास्ता पाक्दै थियो ।

मकरबहादुरको घरको आँगनमा मकैको थाङ्ग्रो पनि बडेमानकै थियो । घर वरिपरि कोदो टन्न फलेको थियो । टिप्ने समय बित्नै लागेको छ । फाल्गुनन्द–१ का वडाध्यक्ष होमप्रसाद आङदेम्बेसहित जनप्रतिनिधि र कर्मचारी सिकुवाको डिलमा बसेर ५६ वर्षीय मकरबहादुर र उहाँकी श्रीमती ६० वर्षीया टीकामायाको मेहनतको प्रशंसा गरिरहेका थिए ।

फाल्गुनन्द गाउँपालिकाले खाद्यबालीको उत्पादन बढाउन ५० मुरीभन्दा बढी धान फलाउने किसानलाई ३० हजार रुपैयाँ र एक सय मुरीभन्दा बढी धान फलाउने किसानलाई ५० हजार रुपैयाँबाट पुरस्कृत गर्ने घोषणा गरेको थियो । याे घोषणापछि मकरबहादुर गाउँपालिकाको कार्यालय पुग्नुभएको थियो । उहाँले आफूले एक सय मुरीभन्दा बढी धान फलाएको गाउँपालिका कार्यालयमा दाबी गर्नुभयो । मकरबहादुरको दाबीपछि बुधवार जनप्रतिनिधि र कर्मचारी उहाँको घर पुग्नु भएको हो ।

मकरबहादुरले निबु खोलाको बेँसी र घर छेउको पाखाबारीमा फलाएको धान एक सय ६८ मुरी प्रमाणित भएपछि उहाँ औधी खुशी हुनुभयो । मकरबहादुर दम्पतीले फाल्गुनन्द–७ को सिस्ने, काब्रेती, घरमुनि, करमबोटे र खोल्साइले गरी पाँचवटा खेतमा तीन मुरी चार पाथी बीउ रोपेका थिए । याे बीउबाट फलेकोमध्ये ३० मुरी धान उहाँले यसअघि नै बिक्री गरिसकेको बताउनुभयो । त्यसैले उहाँले फलाएको धान एक सय ६८ मुरी मात्र गणना भयो ।

फाल्गुनन्द गाउँपालिकाको प्रशासन शाखाका प्रमुख निर्मल अधिकारीका अनुसार बम्जन परिवारले फाल्गुनन्दमा सबैभन्दा बढी धान फलाएको प्रमाणित भएको छ । मकरबहादुरले  फाल्गुनन्दका इन्द्रनारायण आङदेम्बे, कालीदास चेम्जोङ, कर्ण चेम्जोङ, पञ्चबहादुर चेम्जोङ र भीमबहादुर आङदेम्बेको खेतमा खेती लगाउने गरेको बताउनुभयो । गएकाे मङ्सिर ७ गते ३० मुरी धान बिक्री गरिसकेपछि मात्रै धेरै धान फलाउनेलाई पुरस्कृत गर्न लागिएको थाहा पाउनुभएको थियो ।

‘वडाध्यक्षले खबर गरेपछि गएकाे मङ्सिर १३ गते गाउँपालिकामा गएर एक सय ८५ मुरी धान फलाएको जानकारी गराएको थिएँ’, मकरबहादुरले भन्नुभयो । विगतमा अन्नको अभावमा पाएको दुःख सम्झेर धान फलाउन कम्मर कसेर लागेको उहाँको भनाइ छ । ‘विसं २०५६ मा म सगोलको परिवारबाट छुट्टिँदा निकै दुःख पाएँ, दुई पाथी धान लुकाएँ । त्यतिबेला मेरो पाँचजनाको परिवार थियो’, उहाँले भन्नुभयो, ‘मेरो नाममा दुई रोपनी जग्गा छ । यसको उब्जनीले नपुगेपछि पाँचजनाको जग्गामा खेती गर्दै आएका छौँ । ३० मुरीभन्दा कम धान फल्ने कुनै खेत छैन ।’ मकरबहादुरले ती खेत बन्धकी, कुत र अधियाँमा लिनुभएको हो । उहाँले मकैका लागि पाखो बारी  अधियाँमा लिनुभएको छ ।

किसानलाई प्रोत्साहन गर्न पुरस्कृत गर्ने गाउँपालिकाको सूचना पाएपछि मकरबहादुरले धानका खलाखलामै कर्मचारीलाई बोलाउनुभएको थियो । तर सबै धान भेला पारेर जोख्न मन लागेपछि घर छेउको खेतको खलामा सबै धान जम्मा गर्नुभयो । ‘धान जम्मा गर्न सात हजार रुपैयाँ खर्च भयो । धान झारे पनि पराल दाइँ गर्न भ्याएकै छैन्’, उहाँले भन्नुभयो । बम्जन दम्पतीका तीन छोरा झापाको दमकमा बसोबास गर्छन् भने तीन छोरी विवाह गरेर गइसकेका छन् । तर धान फलाउन बम्जन दम्पतीले छरछिमेकीको साथ पाइरहनुभएको छ ।

‘दुःख नभइ सुख हुँदैन रहेछ । साथीभाइले मैले भनेको टार्दैनन्, नाइँ भन्दैनन्’, मकरबहादुरले भन्नुभयो । विसं २०६० देखि धान खेतीमा लागिपरेको उहाँ बताउनुहुन्छ । पाखा खेतमा पानीको समस्या भए पनि निबु खोलाको बेँसीमा समस्या नरहेको उहाँले बताउनुभयो । मकरबहादुर गाउँपालिकाले ५० हजार रुपैयाँ पुरस्कार दिएपछि ठूलो भैँसी किन्ने सोचमा हुनुहुन्छ । ‘गाउँपालिकाले दिएको रकमले एउटा माउ भैँसी किन्ने योजना छ’, उहाँले भन्नुभयो । बम्जन दम्पतीले लामो समयदेखि बर्षेनि एक सय मुरीभन्दा बढी धान फलाउँदै आएका स्थानीयवासीको भनाइ छ ।