नेवार समुदायमा योमरी पुन्ही पर्व आज मनाइँदै

130 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । आज नेवार समुदायमा योमरी पुन्ही पर्व मनाइँदै छ । यस दिन इष्टमित्र, साथीभाई र पाहुनालाई योमरी खुवाउने परम्परा छ । आजको दिन शुद्ध भएर चामलको पिठो, चाकु, तील, मास, गुँदपाक, खुवा राखी योमरी बनाउने चलन छ । नेपाल भाषामा ‘यो’ भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी र मिठाइ हो । सबैलाई मनपर्ने भएकाले नै यसको नाम योमरी राखिएको संस्कृतिविदहरुको भनाइ छ ।

यसैगरी आजै विभिन्न कार्यक्रम गरी राष्ट्रिय ज्यापु दिवस पनि मनाइने भएको छ । ज्यापु दिवसको अवसरमा काठमाण्डौको बसन्तपुर लगायतका क्षेत्रहरुमा विशेष कार्यक्रमको आयोजना गरिने भएको छ । ज्यापु संस्कृतिको रक्षाका लागि प्रत्येक वर्ष योमरी पुन्हीको दिन ज्यापु दिवस मनाउने गरिन्छ ।

यस्तै आज किरात समुदायको मुख्य चाड उधौली पर्व हो । किरात समुदायका केही जातजातिले आज प्रकृति, पितृ र कुलदेवताको पूजा गर्ने परम्परा रहेको छ ।