भरतपुरको मिल्क उद्योग बन्द
149 पटक पढिएको
चितवन – चितवनकाे भरतपुरमा रहेको मिल्क उद्योग बन्द भएको छ । दूध प्रशोधन गरेर उत्पादन गरिएका पाउडर दूध र बटर बिक्री नभएर तयारी वस्तु राख्ने ठाउँ अभाव भएपछि उद्योग बन्द भएको हो ।
यही माघ २० गतेदेखि दूध सङ्कलन रोकिएको छ । भण्डारण गरिएको दूधको प्रशोधन गरेर २२ गतेदेखि उद्योग बन्द गरिएको उद्योगका प्रबन्धक दुर्गा पराजुलीले जानकारी दिनुभयो । सहकारी र दुग्ध उद्योगले प्रशोधनका लागि ल्याएका दूध प्रशोधन गरेर पाउडर र बटर बनाउने गरिन्छ ।
उहाँका अनुसार सहकारी र दुग्ध उद्योगले बिक्री गर्न नसकेपछि दुग्धजन्य पदार्थले गोदाम र कोल्ड स्टोर भरिएका हुन् । प्रबन्धक पराजुलीका अनुसार पाउडर दूधले गोदाम, चिनी भण्डारण गर्ने, कपडा फेर्ने ठाउँ, क्यान्टिन सबै भरिएको छ ।
२० हजार बोराभन्दा बढी दूध बाँकी रहेको जनाउँदै उहाँले पाँच सय टनभन्दा बढी बटर कोल्ड स्टोरमा थन्किएको बताउनुभयो । गोदाममा थन्किएको दुग्धजन्य पदार्थको मूल्य एक अर्ब रुपैयाँभन्दा बढी रहेको छ ।
२०७५ सालदेखि उद्योगले डेरी र सहकारीको दूध शुल्क लिएर प्रशोधन गर्ने काम गरिरहेको छ । दुग्ध उद्योग र सहकारीले आफ्नो उत्पादन बिक्री नभएपछि किसानले दूधको भुक्तानी पाउन सकेका छैनन् ।