सहकारी प्रकरणमा संसदीय छानबिन समिती बनाउन सरकारले मानेन

312 पटक पढिएको

२६ चैत्र २०८०, सोमबार १६:५१ सम्पादक: धादिङ न्यूज

काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख चार दलका शीर्ष नेताहरूको बैठक बिना निष्कर्ष टुंगिएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित छलफलका लागि बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आफ्नो अडान कायमै राखेपछि बैठक बिना निष्कर्ष टुंगिएको हो ।

प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद्मा निरन्तर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणमा संलग्नता बारे संसदीय छानबिन समिति गठनको माग राख्दै चैत २७ देखि संसद् नै अवरुद्ध गर्ने चेतावनी दिएको छ।

कांग्रेसले उठाएको विषयमा छलफलमा कांग्रेसको सकारात्मक जवाफ नआएको नेकपा एमालेका प्रमुख सचेतक महेश वर्तौलाले जानकारी दिनुभयो ।

‘राजनीतिक पूर्वाग्रहमा आधारित छानबिन समिति बन्न सक्दैन । त्यो जायज छैन । तथ्य र प्रमाणमा आधारित नभएर यो कुरा आएको छ,’ बर्तौलाले भन्नुभयो,‘कांग्रेसलाई पुर्नविचार गरेर आउन भनेका छौं । संसदीय छानबिन समिति बन्न सक्दैन ।’

संसदीय छानबिन समिति गठन नगरी कतिपय विषय संसद्को समितिबाट गर्न सकिने विकल्प रहेको उहाँले बताउनुभयो । छोटो समय बसेर सकिएको बैठकबाट बाहिरिएका गृहमन्त्री रवि लामिछानेले फेरि बस्ने कुरा भएको बताउनुभयो ।