कृषिमन्त्री अधिकारीलाई गृह जिल्लामा भव्य सम्मान

359 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ, ५ साउन । चार दशक लामो राजनैतिक यात्रा पछि पहिलो पटक मन्त्री बन्नु भएका  नवनियुक्त कृषि मन्त्री रामनाथ अधिकारीलाई धादिङ जिल्लामा नागरिक समाजको तर्फबाट सम्मान गरिएको छ ।

शुक्रवार धादिङबेसीमा एक कार्यक्रमको आयोजना गरी गैर सरकारी संस्था महासंघ, नेपाल रेडक्रस सोसाईटी,नेपाल पत्रकार महासंघ,धादिङ उद्योग वाणिज्य संघ लगायतका संस्थाहरुको तर्फबाट मन्त्री अधिकारीलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

यसै गरी नेपाली काँग्रेस धादिङ, जिल्ला समन्वय समिति, नेपाल निजामति कर्मचारी संगठनको तर्फबाट पनि मन्त्री अधिकारीलाई सम्मान गरिएको छ ।

विभिन्न संघ संगठनको तर्फबाट सम्मान ग्रहण गर्दै मन्त्री अधिकारीले पदमा रहँदा जनताको अहितका कुनै काम नगर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

चारदशक लामो राजनीतिक इतिहास भएका र आजको स्वार्थी भीडमा नमिसिएका विपीवादी इमानी आर्यसमाजी राजनीतिकर्मी अधिकारी  सन्तुलित विचार, आवेग विनाका प्रस्तुती, साधारण जीवनशैली, जनताको सहज पहुँचमा रहने तथा फरक बिचारका ब्यक्तिलाई समेत समान ब्यबहार गर्न सक्ने नेताका रुपमा परिचित हुनुहुन्छ ।

 प्रदुषित राजनीतिले नबिटुल्याइएका अर्गानिक अनुहार मन्त्री बनेपछि धेरैले ठूलो भरोसा समेत गरेका छन् ।  कृषि मन्त्रालयको जिम्मेवारीसँगै अधिकारी चुनौतिपूर्ण फराकिलो भूमिकामा प्रवेश गर्नु भएको छ । अब मन्त्री अधिकारीको परीक्षा शुरु भएकोछ । जिल्लाबासीको  आशा र भरोसालाई टुट्न नदिन मन्त्री अधिकारीले भिडभाडमा होइन,देशभरका किसानको मुहारमा खुसी ल्याउने नीति कार्यक्रम ल्याएर कार्यान्वयन गर्ने तर्फ लाग्न जिल्लावासीको सुझाव छ । मन्त्री अधिकारीलाई कार्यकाल सफलताको शुभकामना  ।

२०१८ साल भदौमा धादिङको नेवारपानीमा जन्मिएका अधिकारी नेपाली कांग्रेस धादिङका जिल्ला सभापति समेत हुन । अधिकारी २०३६ सालको जनमत संग्रह र त्यसपछिका सबै राजनीतिक परिवर्तनमा सहभागी हुंदै आएका व्यक्ति हुन् ।

उनी पहिलो पटक नेकपा एमालेका उम्मेदवार गंगालाल तुलाधरलाई हराएर २०५६ सालको संसदीय निर्वाचनमा धादिङ क्षेत्र नं २ बाट निर्वाचित   बनेका थिए ।

२०६४ र २०७० सालको निर्वाचनमा पराजित अधिकारीले २०७४ सालमा भने संसदीय निर्वाचनमा टिकट नै पाएनन् । २०७४ सालमा कांग्रेसका दिलमान पाख्रिनले नेकपा एमालेका खेम लोहनी संग पराजित भएका थिए । २०७९ मा अधिकारीले तत्कालिन गठवन्धन (काँग्रेस ,माओवादी र एकीकृत समाजवादीको)  साझा उम्मेदवार भएर एमालेका खेम लोहनीलाई पराजित गरी  प्रतिनिधि सभा सदस्य बन्न सफल भएका थिए ।

कांग्रेसमा संस्थापन पक्षइतर मानिने अधिकारी अहिले शेखर–गगन समूह निकट भएका कारण कोइरालाकै सिफारिसमा कांग्रेसका तर्फबाट धादिङले पहिलो ‘क्याबिनेट सदस्य’ पाउने व्यक्ति हुन सफल भएका छन् । यसअघि कांग्रेसका दिलमान पाख्रिन कानून न्याय तथा संसदीय मामिला राज्यमन्त्री भएका थिए ।


One thought on “कृषिमन्त्री अधिकारीलाई गृह जिल्लामा भव्य सम्मान

Comments are closed.