मलेखु–मुग्लिन सडक स्तरोन्नति सुस्त,डेढ वर्षमा १६ प्रतिशत मात्रै भौतिक प्रगति

85 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं, १ असोज  २०८१। मलेखु–मुग्लिन सडक स्तरोन्नति सुस्त भएको छ । तीन वर्षभित्र सम्पन्न गर्नेगरी सम्झौता भएकोमा डेढ वर्ष बित्दा समेत १६ प्रतिशत मात्रै भौतिक प्रगति देखिएको छ ।

पृथ्वी राजमार्गमा पर्ने नागढुङ्गा–मुग्लिन सडक खण्डलाई दुई भागमा विभाजन गरी स्तरोन्नति थालिएको हो । उक्त सडक खण्ड ३९ किलोमिटर छ । नागढुङ्गा–मुग्लिन सडक योजनाको यो पश्चिम खण्ड हो । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी ई कृष्ण आचार्यका अनुसार नक्साङ्कन परिवर्तन, वर्षात र चाडपर्वका कारण काम लक्ष्यअनुसार हुन नसकेको हो । भारतीय परामर्शदाता कम्पनीले तयार गरेको विस्तृत अध्ययन प्रतिवेदनमा तथ्याङ्क गलत भएपछि सुधार गरेर पुनः तयार गर्दा थप छ महिना काम गर्न नपाएको आचार्यको भनाइ छ ।

उहाँका अनुसार हाल पाँचवटा पुलको जग र पिल्लर निर्माण भएको छ । नाली निर्माण, मोड सुधार, टेवा पर्खालको काम, कल्भर्ट विस्तार र सडक चौडा भइरहेको छ । यस सडकका आठ पुलमध्ये छ पुल निर्माणका लागि ठेक्का लागेको थियो । तीमध्ये पाँचवटाको काम भइरहेको उहाँले जानकारी दिनुभयो । हुग्दी खोलाको पुल क्षतिपूर्तिको प्रक्रिया नटुङ्गिएकाले काम सुरु हुनसकेको छैन । हुग्दीको पुल वर्षातपछि थालिने उहाँले बताउनुभयो ।

सडक स्तरोन्नति विश्व बैंकको सहयोगमा थालिएको हो । शर्मा–जेडआई सिजी जेभीले रु चार अर्ब ८० करोडमा ठेक्का सम्झौता गरेको छ । यो योजनाअन्तर्गत पृथ्वी राजमार्गमा ‘डेडिकेटेड’ दुई लेनको सडक बनाइँदैछ । हाल यो सडकको चौडाई सात मिटर छ । अब सडक कम्तीमा नौ मिटर चौडाइको बन्ने आयोजना कार्यालयले जनाएको छ । बाक्लो बस्तीका चार ठाउँमा सडक चार लेनको बन्नेछ । विशालटार, मझिमटार, कुरिनटार र चुम्लिङटारमा गरेर सात दशमलव १५ किलोमिटर सडक चार लेनको बन्ने छन् । चार लेन सडक १४ मिटर फराकिलो हुने जनाइएको छ ।

राजधानी बाहिरिने र प्रवेश गर्ने प्रमुख सडक भएकाले उच्च सवारी चापका बाबजुद् काम गर्नुपरेको उहाँको भनाइ छ । वर्षात्को समयमा काम गर्न कठिन भएकाले हिँउद लागेपछि कामले तीव्रता पाउने उहाँले बताउनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *