राज्यको वेवास्ताले ३५ जनाको ज्यान गयो झ्याप्ले खोलामा

180 पटक पढिएको

सम्पादक: Dhading News

काठमाण्डौं, १४ असोज २०८१ । राजधानी प्रवेश गर्ने मुख्य नाका नागढुंगा नजिकै झ्याप्लेखोलामा पहिरोमा ३ वटा सवारी साधन पुरिंदा ३५ जनाको अकालमा ज्यान गएको छ । देशका विभिन्न ठाउँबाट मनभरि अनेक रहर र सपना बोकेर राजधानी छिर्दै गरेकाहरु गन्तव्यमा पुग्न नपाउँदै बिच बाटोबाटै हराउन पुगेका छन् । रातीको समयमा सडक अबरुद्ध हुंदा रोकिन पुगेका सवारी साधन सुरक्षित स्थानतर्फ पुग्न समेत पाएनन् । राजधानीको छेवैमा भएको यो अकल्पनीय दुर्घटनाले सरकारको विपत पूर्व तयारीको अवस्था कस्तो रहेछ भन्ने प्रष्ट पारेको छ ।

असोज ११ गते शुक्रवार साँझदेखि नै देशभर भीषण वर्षा शुरु भयो । निरन्तरको बर्षाले सडकमा गुडिरहेका सवारीसाधन राम्ररी चल्न पाएका थिएनन् । अवरोध छिचोल्दै काठमाडाैंतर्फ आउँदै गरेका सवारीसाधन नागढुङ्गाको ओरालोको जाममा फसे । सानातिना पहिरा त्यसअघि नै खसिसकेका कारण सवारीसाधन अघि बढ्न सकेनन् । अवरोधले रोकिन पुगे ।

काठमाडाैं र धादिङको सिमानामा पर्ने झ्याप्लेखोलामा अन्य क्षेत्रमा जस्तै सवारीसाधन लामबद्ध थिए । सडक सवारीसाधनले भरिभराउ थिए । रात छिप्पिंदै गईरहेको थियो,रातिमा सवारीसाधन अघि बढ्न सकेनन् । रातभर जाममा फसेका सवारी साधनका यात्रु कति बेला सडक खुल्ला भन्दै आंफु भन्दा अघिको अवस्था हेर्दै बसिरहेका थिए, रात सकिएर विहानीको संकेत गर्दै थियो । त्यही बेला शनिबार बिहान ४ः०० बजे नागढुङ्गाभन्दा केही सय मिटर परबाट खसेको पहिरो तल्लो सडक (झ्याप्ले खोलामा अड्किएका सवारीसाधनमा) बजारियो । ठाडो भिर भएकाले एकैचोटी पहिरो सिधा तल खस्यो । माथिल्लो सडकको सीमेन्ट पर्खाल नै भत्काएर पहिरो खस्यो । उक्त ठाउँ नागढुंगा प्रहरी चौकी भन्दा केही तल र नागढुङ्गा सुरुङमार्गभन्दा केही माथि पर्दछ ।

अँध्यारोले केही नदेखिने बेलामा पहिरो गाडीमाथि खस्यो । अघिल्तिर रहेका साना सवारीसाधनमा रहेका केहीलाई स्थानीयले जसोतसो तानेर बचाए,पहिरो खस्नेक्रम रोकिएको थिएन, पानी परिरहेको थियो, राजमार्गमा सवारी साधन ठप्प थिए, कति त रातभरको कष्टले मोटर भित्रै निदाईरहेका थिए, ननिदाएका हरु पनि बाहिर निस्कन नपाई पहिरोमा चेपिन पुगे । सवारी जामले गर्दा रोकिएका मोटर पन्छाएर सुरक्षित स्थान तर्फ लैजाने ठाउँ समेत थिएन । सवारीसाधनमाथि पहिरो खसिरहेको थियो, बचाउ बचाउ भन्ने आवाज आइरहेको थियो, भए पनि त्यहाँ सम्म पुगेर उद्धार गर्ने अवस्था समेत नभएको स्थानीय नानु लामा बताउँछिन । यो ठाउँमा २०५९ सालमा पनि पहिरो खसेर ९ जनाको ज्यान जानुको साथै बस्तीनै पहिरोले वगाएको थियो, यो पटक पनि त्यह िडरले स्थानीय त्यहाँबाट भागेर पिप्लामोड तर्फ गएका थिए ।

लामाका अनुसार प्रहरीलाई त्यसबारे खबर गरिएको थियो । ‘केही समयपछि प्रहरी आए । त्यसपछि केके भयो थाहा भएन, धेरैपछि आउँदा त यस्तो घटना भइसकेको देख्यौँ’, उनले भने । नागढुङ्गादेखि नै ठाउँठाउँमा पहिरो खसेको थियो । तत्काल सवारीसाधन चल्ने अवस्था थिएन । अहिले पनि सो क्षेत्रमा दर्जनौँ ठाउँमा पहिरो खस्ने अवस्था छ । प्रहरी नायब उपरीक्षक सूर्य सुवेदी सडकको अवरोध हटाउन ठूलो सङ्घर्ष गर्नुपरेको बताउँछन् ।

घटनास्थलको दृश्य कारुणिक देखिन्छ । सवारीसाधन क्षतविक्षत भएका छन् । शवहरू पुरिएको ठाउँबाट निकालिएकाले अनुहार चिनिने अवस्था छैन । शवहरू गाडीभित्रै पुरिएको अवस्थाबाट निकालिएका छन् ।

झ्याप्लेखोलाको पहिरो नजिकै शुक्रवार राती सडकमा सानो पहिरो खसेको थियो , रातीनै त्यो पहिरो पन्छाउन सकिएको भए देशले यति ठूलो क्षती व्यहोर्न नपर्ने थियो । सम्वन्धित निकायले बेलैमा ध्यान नदिन नसक्दा अहिले अकल्पनीय क्षती हुन पुगेको हो । पहिरोमा पुरिएका र त्यस क्षेत्रमा रोकिएका सवारी साधन रातको समयमा जर्वजस्त त्यहाँ पुगेका थिएनन, बिहानै देखि यात्रा शुरु गर्दै ठाउँको अवरोध छिचोल्दै त्यहाँ सम्म पुगेका ति सवारी साधनलाई रातीको समयमा रोकिन वाध्य पारिंदा यो अबस्था आएको डुम्रेबाट काठमाण्डौंको लागि यात्रामा रहेका पहिरो आउनु अघि र पछिको अबस्थालाई नजिकबाट नियालेका राजन सापकोटाले सामाजिक सन्जालमा प्रष्ट संग लेखेका छन् ।

आम नागरिकले पटक पटक आग्रह, अनुरोध, याचना गर्दा पनि सरकारी निकायले विपदलाई ख्याल ख्याल सोचिंदिदा यस्तो अबस्था आएको सापकोटाले सामाजिक सञ्जालमा लेखेका छन् ।

त्रिभुवन राजपथअन्तर्गत धादिङको धुनिबेसी नगरपालिका–९ झ्याप्ले खोलाको पहिरोबाट सोमबार साँझसम्म ३५ जनाको शव निकालिएको छ । जसमध्ये पुरुष २५, महिला नौ र एक बालक छन् ।

चितवनबाट काठमाडौँ आउँदै गरेको बा ३ ज १३४५ नम्बरको माइक्रो बसका १३, गोरखाबाट काठमाडौँ आउँदै गरेको ना ४ ख २२७० नम्बरको बसका आठ र बुटवलबाट काठमाडौँ आउँदै गरेको लु १ ज ४५७८ नम्बरको माइक्रोबसका १४ यात्रु रहेको प्रहरीले जनाएको छ ।

तर सबैको सनाखत नसकिएकोले कुन सवारीमा को थिए भन्ने प्रहरीले यकिन गर्न सकिएको छैन । सबै शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ । पोस्टमार्टमपछि सनाखत गरेर उनीहरूको शव आफन्तलाई बुझाउने तयारी छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्काभेटर प्रयोग गरेर सोमबार पुनःउद्धार जारी राख्ने जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी प्रल्हाद सिलवालले जानकारी दिनुभयो ।

पहिरोले सवारी पुरिएको स्थान काठमाडौँको कलङ्कीबाट १५ किलोमिटर दुरीमा पर्छ । यो क्षेत्रमा विसं २०५५ र २०५९ मा समेत पहिरो गएर धनजनको क्षति भएको थियो ।


One thought on “राज्यको वेवास्ताले ३५ जनाको ज्यान गयो झ्याप्ले खोलामा

Comments are closed.