युएईलाई हराउँदै नेपाल आइसीसी यु–१९ महिला टि–२० विश्वकपमा छनोट
81 पटक पढिएको
काठमाडौँ, २८ कार्तिक २०८१, बुधबार । नेपाल आइसीसी यु–१९ महिला टि–२० विश्वकपमा छनोट भएको छ । बुधबार भएको निर्णायक खेलमा यूएईलाई ८ विकेटले हराउँदै नेपाल पहिलोपटक यु१९ महिला विश्वकपमा छनोट भएको हो ।
घरेलु टोलि युनाइटेड अरब इमिरेट्स (युएई)लाई ८ विकेटले हराउँदै नेपालले विश्वकपमा स्थान पक्का गरेको हो । युएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४ ओभरमा २ विकेट गुमाएर भेट्टायो ।
नेपालका लागि ओपनर सना प्रविनले अविजित रहँदै सर्वाधिक रन ३५ बनाइन् । त्यस्तै कप्तान पूजा महतोले १८ बलमा २१ रनको योगदान दिइन् । साबित्री धामीले १२ रन जोडिन् ।
१६ देशले भाग लिने यस विश्वकपमा १५ देशको टुङ्गो यसअघि नै लागिसकेको थियो भने नेपाल विश्वकप खेल्ने १६ देश बनेको छ । यस विश्वकपमा आयोजक मलेसिया, अघिल्लो विश्वकप खेलेका १० देश र क्षेत्रीय छनौटबाट नेपालसहित ५ देशले भाग लिँदै छन् ।
यू-१९ महिला टी-२० विश्वकप आगामी जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुँदै छ ।