रास्वपाका सांसदविरुद्ध अवहेलना मुद्दाको सुनुवाइ मङ्सिर ३ मा
44 पटक पढिएको
काठमाडौँ, कात्तिक ३० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय पदाधिकारीसहित १९ सांसदविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि कास्की लगायतका जिल्लामा अदालतलाई प्रभावित पार्ने गरी गतिविधि भएको भन्दै मुद्दा दर्ता भएको हो । सर्वोच्च अदालत प्रशासनले दरपीठ गरेको मुद्दा दर्ताका लागि कात्तिक २७ गते एकल न्यायाधीशको इजलासबाट आदेश भएपछि बुधबार दर्ता भएको हो ।
न्यायाधीश विनोद शर्माको एकल इजलासले अधिवक्ता अनुपम भट्टराई निवेदक रहेको मुद्दा दर्ताको आदेश गरेको थियो । सभापति लामिछाने पक्राउ परेपछि अदालतको न्यायिक कार्यमा अवरोध पुग्ने गरी प्रदर्शन गरेको, आफ्ना अभिव्यक्तिमार्फत अदालतलाई प्रभावमा पार्ने र धम्क्याउने काम गरेको जिकिर मुद्दामा गरिएको छ । यस्तै न्यायाधीशमाथि अप्रमाणित आक्षेप लगाएको दाबी पनि मुद्दामा गरिएको छ ।
लामिछानेबाहेकका रास्वपाका १९ सांसदमाथि नै अवहेलना दर्ता गरिएको छ । यस्तै बागमती प्रदेश सभापति अच्युतम लामिछानेमाथि पनि मुद्दा दायर भएको छ । मुद्दाको प्रारम्भिक सुनुवाइ मङ्सिर ३ गतेका लागि तोकिएको छ ।