गोंगबुमा  युवक माथि आक्रमणमा संलग्न धादिङका २ सहित चार जना पक्राउ

269 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं ,१६ मंसिर । काठमाडौंको टोखा नगरपालिका–१० गोंगबुमा  दुई  महिना अघि भएको आक्रमणको घटनामा संलग्न भएको आरोपमा  प्रहरीले चार जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङका दूई जना रहेका छन् ।

पक्राउ पर्नेहरुमा लमजुङको दूधपोखरी गाउँपालिका–५ का २० वर्षीय सुमित तामाङ, सोही ठाउँका २० वर्षकै सुसन तामाङ, धादिङको रुबीभ्याली गाउँपालिका–४ का २५ वर्षीय उम्बे गुरुङ भनिने उमेश घले र रुबीभ्याली–६ कै १९ वर्षीय कान्छा भनिने आशिष गुरुङ छन् ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।

यो समूहले गत ३० भदौमा टोखा नगरपालिका–१० गोंगबुस्थित ‘क्रेजी चिया भट्टी’ नामको चिया पसलमा दुई युवकमाथि रुपेश गुरुङ र सागर तामाङ नाम गरेका युवकहरुलाई आक्रमण गरेका थिए ।

उनीहरुमाथि कुर्सी, हेल्मेट, रड र सीसाको बोतल प्रहार भएको थियो । हाल पक्राउ परेकाहरुविरुद्ध प्रहरी वृत्त महाराजगञ्जमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएकाले कारबाहीका लागि महाराजगञ्ज पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी काजिकुमार आचार्यले बताए ।