भोलि र पर्सि देशभर वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

275 पटक पढिएको

१५ बैशाख २०८३, मंगलवार २१:१६ सम्पादक: धादिङ न्यूज

धादिङ– जल तथा मौसम विज्ञान विभागले भोलि र पर्सि देशका विभिन्न स्थानमा हावाहुरी र वर्षाको पूर्वानुमान गरेको छ। बुधबारदेखि बिहीबारसम्म देशका प्रायः सबै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने र केही क्षेत्रमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ।

मौसमविद्हरूका अनुसार भोलि साँझदेखि पर्सि बिहानसम्म मौसमको प्रभाव सबैभन्दा बढी देखिनेछ। विशेषगरी पश्चिम नेपालमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना छ भने पूर्वी भागमा हावाहुरी र वर्षा दुवैको असर रहने देखिएको छ। स्थान अनुसार मौसमको समय र प्रकृति फरक-फरक हुन सक्ने पूर्वानुमान गरिएको छ।

यसैबीच, आज वैशाख १५ गते साँझ नै गण्डकी प्रदेशको तातोपानी क्षेत्रमा भारी वर्षा भएको छ। विभागका अनुसार उक्त क्षेत्रमा पछिल्लो ३ घण्टामा ८० मिमि वर्षा मापन गरिएको छ र यो क्रम अझै केही समय थपिन सक्ने देखिएको छ। यस्तै सुदूरपश्चिम र कर्णालीका पहाडी भू-भागका केही स्थानमा पनि हल्का वर्षा सुरु भइसकेको छ। मौसममा आउने यस्तो परिवर्तनलाई मध्यनजर गर्दै विभागले आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।