भोटेकोशी बाढीका मृतक चन्द्रबहादुर ज्ञ्यामी मगरको परिवारलाई गल्छी गाउँपालिकाद्वारा राहत हस्तान्तरण

27 पटक पढिएको

२० आश्विन २०८३, मंगलवार ०६:२१ सम्पादक: धादिङ न्यूज

धादिङ, २० असोज  – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएका गल्छी गाउँपालिका–८ निवासी चन्द्रबहादुर ज्ञ्यामी मगरको परिवारलाई राहत सामग्री तथा नगद सहयोग हस्तान्तरण गरिएको छ।
दुःखद् निधनप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारलाई गाउँपालिकाको तर्फबाट २५ हजार नगद तथा खाद्यान्न राहत सामग्री हस्तान्तरण गरिएको हो।
गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडा, उपाध्यक्ष भाइकाजी तिवारी, वडा नं. ८ का अध्यक्ष विशाल लुङ्गेली मगर, वडा नं. ७ का अध्यक्ष हरिप्रसाद खतिवडा तथा विपद् व्यवस्थापन शाखा प्रमुख रामप्रसाद ज्ञवाली लगायतका प्रतिनिधिहरूको उपस्थितिमा उक्त राहत सामग्री हस्तान्तरण गरिएको हो।
संकट तथा दुःखको यस घडीमा पीडित परिवारलाई साथ र सहयोग प्रदान गर्नु नै ठूलो मानवीयता भएको उपस्थित वक्ताहरूले बताएका छन्। विपद्को यस कठिन समयमा स्थानीय सरकार पीडित परिवारको साथमा रहेको उनीहरूको भनाइ थियो।
दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै गल्छी गाउँपालिका परिवारले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ।