आज केही स्थानमा भारी वर्षाको सम्भावना र चट्याङको चेतावनी
14 पटक पढिएको
काठमाडौं, २१ असोज । पछिल्लो १२ घण्टामा कास्कीको मालेपाटन केन्द्रमा सबैभन्दा धेरै ३४.४ मिलिमिटर वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाले बुधबार बिहान ६ः३८ बजे उक्त जानकारी दिएको हो।
महाशाखाका अनुसार पछिल्लो १२ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ।
बुधबार दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। हिमाली भूभागका थोरै तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई भूभागका साथै बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। यस्तै, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तथा मधेससहित कोशी, बागमती र गण्डकीका केही तराई भूभागमा समेत मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ।
बुधबार राति कोशी प्रदेशसहित देशका हिमाली र पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ। तराई क्षेत्रमा आंशिक बदली रहने तथा बिहानीपख केही स्थानमा हुस्सु/कुहिरो लाग्न सक्नेछ। हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।







