धादिङमा चाडपर्व लक्षित सुरक्षा र यातायात व्यवस्थापनमा कडाइ गरिने

53 पटक पढिएको

२३ आश्विन २०८३, शुक्रबार १५:०७ सम्पादक: धादिङ न्यूज

 

धादिङ, २२ असोज । चाडपर्वका समयमा हुन सक्ने चोरी, लुटपाट, ठगी, अवैध कारोबार तथा सडक दुर्घटना नियन्त्रण गर्न धादिङमा सुरक्षा र यातायात व्यवस्थापनलाई कडाइ गरिने भएको छ।
चाडपर्वमा सर्वसाधारणको आवतजावत बढ्ने भएकाले राजमार्ग तथा मुख्य सडकमा सुरक्षा गस्ती बढाउने र चोरी, लुटपाट तथा डकैतीजस्ता अवाञ्छित गतिविधि नियन्त्रणका लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले जानकारी दिनुभयो।
बुधबार जिल्ला प्रशासन कार्यालय धादिङमा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरी बल, पत्रकार, उपभोक्ता मञ्च, उद्योग वाणिज्य संघ धादिङ, व्यापारी, बजार प्रतिनिधि, यातायात व्यवसायी र सर्वदलीय प्रतिनिधिहरूको उपस्थितिमा छलफल भएको थियो। बैठकले चाडपर्वलाई लक्षित गर्दै लागुऔषध नियन्त्रण, बजार व्यवस्थापन, कालोबजारी नियन्त्रण, चोरी लुटपाट नियन्त्रण, अवस्थित तथा अनियन्त्रित प्रयोजन विपरीतका सवारी साधन नियन्त्रण र दुर्घटना न्यूनीकरण गर्ने निर्णय गरेको छ। साथै, गत भाद्र १० गतेको विनाशकारी बाढीका कारण मलेखु पुल बगाउँदा यातायात व्यवसायी र सर्वसाधारण जनतामा पर्न गएको प्रतिकूल असरका विषयमा समेत छलफल भएको थियो।
चाडपर्व तथा धार्मिक कार्यक्रम सञ्चालन गर्दा एकअर्काको धर्म, संस्कृति, मूल्य र मान्यताको सम्मान गर्दै सामाजिक सद्भाव कायम गर्नसमेत आग्रह गरिएको छ। गैरकानुनी चिठ्ठा, जुवातास, अनलाइन सट्टेबाजी तथा विद्युतीय माध्यमबाट हुने ठगी नियन्त्रणका लागि निगरानी बढाइने भएको छ।
त्यस्तै, पटाका, आतसबाजीलगायत विस्फोटक तथा निषेधित वस्तुको अवैध आयात, ओसारपसार, बिक्रीवितरण र प्रयोगमा रोक लगाइनेछ। सार्वजनिक स्थानमा मदिरा सेवन गरी होहल्ला गर्ने तथा मादक पदार्थ सेवन गरेर सवारी चलाउनेमाथि प्रहरीले कडाइका साथ चेकजाँच गर्ने निर्णय गरिएको छ।
बैंक, वित्तीय संस्था तथा एटीएममा २४ घण्टा सुरक्षा व्यवस्था मिलाउनुका साथै एटीएममा पर्याप्त नगद उपलब्ध गराउन बैंकहरूसँग समन्वय गरिनेछ। डिजिटल वित्तीय अपराध नियन्त्रणका लागि पनि विशेष निगरानी बढाइने प्रमुख जिल्ला अधिकारी गौतमले बताउनुभयो।
चाडपर्वका बेला खाद्यान्न, पेट्रोलियम पदार्थ तथा एलपीजी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न सम्बन्धित व्यवसायीलाई आग्रह गरिने भएको छ। बजारमा अस्वाभाविक मूल्यवृद्धि हुन नदिन नियमित अनुगमन गर्नुका साथै खाद्यान्न, मिठाई, मासु तथा दुग्धजन्य पदार्थको गुणस्तर, उपभोग्य मिति र स्वच्छतासमेत जाँच गरिने भएको छ।
राजमार्गमा सञ्चालित होटल तथा रेस्टुरेन्टमा खानाको गुणस्तर, सरसफाइ र शौचालयको व्यवस्थापनमा ध्यान दिन व्यवसायीलाई निर्देशन दिइनेछ। यसका लागि अनुगमन टोली परिचालन गरी निरीक्षण गरिने निर्णय गरिएको छ।
चाडपर्वका समयमा यात्रुसँग तोकिएकोभन्दा बढी भाडा असुल्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने तथा तीव्र गतिमा सवारी चलाउने कार्य नियन्त्रण गर्न राजमार्गमा कडाइका साथ चेकजाँच गरिने भएको छ। नेपाल प्रहरी र ट्राफिक प्रहरीले ‘यात्री सहायता कक्ष’ सञ्चालन गर्ने निर्णयसमेत गरिएको छ।
यातायात व्यवसायीले यात्रुको प्रस्थान बिन्दु र गन्तव्यसम्बन्धी अद्यावधिक विवरण नजिकको प्रहरी युनिटमा उपलब्ध गराउनुपर्नेछ। सार्वजनिक यातायातका साधनमा तोकिएको भाडादर स्पष्ट देखिने गरी टाँस गर्नुपर्ने निर्णयसमेत गरिएको छ।
मनसुनका कारण क्षतिग्रस्त सडक तत्काल मर्मतसम्भार गरी यातायात आवागमन सहज बनाउन संघ, प्रदेश र स्थानीय तहका सम्बन्धित कार्यालयलाई आवश्यक व्यवस्था मिलाउन अनुरोध गरिनेछ।
चाडपर्वलाई सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउन सुरक्षा निकाय, स्थानीय तह, यातायात व्यवसायी, बजार अनुगमन निकाय तथा अन्य सरोकारवालाबीच समन्वय र निगरानी बढाइने भएको छ।