धादिङको ज्यामिरेघाटमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई जना घाइते
139 पटक पढिएको
धादिङ-धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ स्थित ज्यामिरेघाटमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई जना घाइते भएका छन्।
प्रहरीका अनुसार त्रिशूली नदी किनारमा फेला परेको शंकास्पद वस्तु कोठामा ल्याएर फुटाउने क्रममा विस्फोट भएको हो।
विस्फोटमा परी काभ्रेको ढुङ्खर्क गाउँपालिका–९ घर भएका अन्दाजी २६ वर्षीय जंगे परियार र २४ वर्षीय रामचन्द्र परियार घाइते भएका छन्। उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।
घाइते दुवै जनालाई उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको छ।
घटनाबारे थप अनुसन्धान गर्न गजुरीबाट प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ।







