सिद्धलेक-१ खनायोखर्कमा त्रिदिवसीय महायान उपवास ञ्युङ्ने व्रत सुरु

30 पटक पढिएको

३ कार्तिक २०८३, सोमबार २१:२४ सम्पादक: धादिङ न्यूज

धादिङ – धादिङको सिद्धलेक गाउँपालिका-१, खनायोखर्कस्थित छेजुङ गुम्बामा त्रिदिवसीय महायान उपवास (ञ्युङ्ने व्रत) सुरु भएको छ।

नेपाल अहिंसावादी बौद्ध धर्म विश्व शान्ति चक्र संघको आयोजनामा सुरु भएको उक्त धार्मिक कार्यक्रममा २० जना उपासक-उपासिकाहरू सहभागी भएका छन्।

बडादसैँको अवसरमा आयोजित यस व्रतमार्फत अकालमा ज्यान गुमाउन बाध्य भएका निमुखा प्राणीहरूको उद्धार, वर्षभरि अज्ञानतावश भएका अकुशल कर्मप्रति क्षमायाचना तथा सम्पूर्ण प्राणी जगतको हित र कल्याणका लागि पुण्य सञ्चय गर्ने उद्देश्य राखिएको छेजुङ गुम्बा व्यवस्थापन समितिका अध्यक्ष जोन लामाले जानकारी दिनुभयो।

अध्यक्ष लामाका अनुसार व्रतमा सहभागी भई धार्मिक अनुष्ठान, उपवास तथा साधनाका माध्यमबाट पुण्यलाभ लिन धर्मप्रेमी तथा शान्तिप्रेमी आम जनसमुदायलाई आग्रह गरिएको छ।

गुम्बा प्रमुख लामा दाम्छिक डोल्मा लामाको प्रमुख आतिथ्यमा सञ्चालन भइरहेको उक्त अनुष्ठानमा दाम्छिक डोल्मा लामा, जोन लामा, गणेशबहादुर घले, रिन्चेन डोल्मा लामा, पूर्णिमा तामाङ, शान्ता वाइबा, नेमा तामाङ, आईता घले, महेन्द्रबहादुर घले, रामाण घले, मञ्जु घले, कञ्चन तामाङ, मन्सुवा घले, मनिष घले, किरण तामाङ, सुरज घले, सोनी घले, सुकमाया तामाङ, अस्मिता घले र भूमि घले सहभागी हुनुहुन्छ।

उक्त ञ्युङ्ने व्रत कात्तिक ४ गतेसम्म सञ्चालन हुने गुम्बा व्यवस्थापन समितिले जनाएको छ।