बूढीगण्डकी  बाढी प्रभावित गोरखा चुमनुब्रीका ४० घरपरिवारलाई शान्ति नेपालको राहत सहयोग

55 पटक पढिएको

२ कार्तिक २०८३, आईतवार २१:०४ सम्पादक: धादिङ न्यूज

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–३ का बूढीगण्डकी बाढी प्रभावित ४० घरपरिवारलाई सामाजिक संस्था शान्ति नेपालले राहत सामग्री वितरण गरेको छ। बाढीका कारण कच्ची सडक सञ्जाल पूर्ण रूपमा क्षतिग्रस्त भई प्रभावित क्षेत्रसम्म पुग्न कठिन भएपछि गाउँपालिकाको अनुरोधमा हेलिकप्टरमार्फत राहत सामग्री पुर्‍याइएको हो।

दशैँको अष्टमीको दिन चाडपर्वको प्रवाह नगरी पीडित समुदायलाई सहयोग गर्ने उद्देश्यले राहत सामग्री हस्तान्तरण गरिएको संस्थाले जनाएको छ। गाउँपालिका उपाध्यक्ष लक्ष्मी गुरुङ र वडा नं. ३ का वडा अध्यक्ष रामबहादुर गुरुङको उपस्थितिमा बाढी प्रभावितहरूलाई सहयोग हस्तान्तरण गरिएको हो।

राहत स्वरूप प्रभावित परिवारहरूका लागि प्रेसर कुकर, कराई, थाल, कचौरा लगायतका भान्साका भाँडाकुँडा, ४० सेट सोलार बत्ती, ४० थान त्रिपाल, सिरक तथा न्यानो कपडा, र खानेपानी शुद्धीकरणका लागि फिल्टर लगायतका अन्य आवश्यक सामग्रीहरू प्रदान गरिएको छ।

बाढीका कारण प्रभावित परिवारहरू उज्यालोको अभाव, चिसोबाट बच्ने न्यानो कपडा र खाना पकाउने भाँडाकुँडा नहुँदा कठिन अवस्थामा जीवन बिताउन बाध्य थिए। यस्तो अवस्थामा शान्ति नेपालबाट प्राप्त सहयोगले उनीहरूको दैनिक जीवन सहज बनाउन ठूलो राहत पुग्ने विश्वास लिइएको छ।

राहत सामग्री हस्तान्तरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मी गुरुङ र वडा अध्यक्ष रामबहादुर गुरुङले प्रभावित परिवारहरूको तर्फबाट शान्ति नेपालप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्नुभयो।

साथै, चाडपर्वको समयमा पनि आफ्नो जिम्मेवारी निर्वाह गर्दै राहत सामग्रीको व्यवस्थापन, ढुवानी तथा वितरणमा निरन्तर खटिनुभएका शान्ति नेपालका सम्पूर्ण कर्मचारी तथा सहयोगीहरूप्रति स्थानीय तह र समुदायले उच्च प्रशंसा गरेका छन्।