शुरू भयो तिहार, आज धनतेरस : घरघरमा समृद्धि र आरोग्य भित्र्याइँदै
60 पटक पढिएको
काठमाडौं । हिन्दुहरूको दोस्रो महान् चाड यमपञ्चक अर्थात् तिहारको पहिलो दिन आज श्रद्धा र उल्लासका साथ धनतेरस पर्व मनाइँदैछ । यसै अवसरमा धनका देवता कुबेर, माता लक्ष्मी र स्वास्थ्यका देवता भगवान् धन्वन्तरीको विशेष पूजा आराधना गरिन्छ । कात्तिक कृष्ण त्रयोदशी तिथिका दिन पर्ने यस पर्वलाई घरघरमा समृद्धि र आरोग्य भित्रिने शुभ दिनको रूपमा लिने गरिन्छ । यस दिन मूल्यवान धातु, नयाँ भाँडाकुँडा र गरगहना किन्ने परम्परा रहेको छ ।
पौराणिक मान्यता अनुसार समुद्र मन्थनका क्रममा आजैका दिन भगवान् धन्वन्तरी हातमा अमृतको कलश लिएर प्रकट हुनुभएको थियो । भगवान् धन्वन्तरीलाई देवताका वैद्य तथा आरोग्य, स्वास्थ्य, आयु र तेजका देवता मानिन्छ । उहाँ भगवान् विष्णुका २४औँ अवतारमध्ये एक हुनुहुन्छ । धनतेरसका दिन नयाँ सामग्रीको खरिदलाई अति शुभ मानिने भएकाले यस दिन बजारमा सुन, चाँदी तथा पित्तलका भाँडाकुँडा किन्नेहरूको विशेष भिड लाग्ने गर्छ ।
भगवान् धन्वन्तरीलाई पित्तल विशेष प्रिय हुने धार्मिक विश्वास रहिआएको छ । यसै कारण यस दिन नेपाली बजारमा पित्तलका थाल, गिलास, कचौरा र कलशहरूको खरिद–बिक्री अत्यधिक हुने गरेको छ । यसैगरी यस दिन कुबेर यन्त्र तथा श्री यन्त्र किनेर घरको दराज वा व्यापारिक प्रतिष्ठानमा राख्नाले वर्षभर धनको कमी नहुने जनविश्वास रहेको छ । यस पर्वमा लक्ष्मी र गणेशको कुँदिएको चाँदीको सिक्का किन्ने चलनले घरमा समृद्धि भित्र्याउने मान्यता राखिन्छ ।
धनतेरसका दिन नयाँ भाँडाकुँडाका साथै कुचो किन्ने परम्परा पनि यसैको एक महत्वपूर्ण पाटो हो । यस दिन कुचो किनेर घरमा भित्र्याउँदा घरमा आर्थिक अभाव नहुने र नकारात्मक ऊर्जा तथा रोगव्याधि टाढा रहने जनविश्वास छ । यसबाहेक सवारी साधन खरिदका लागि पनि उपभोक्ताले यही दिनको प्रतीक्षा गर्ने गरेका छन् । तिहारको समयमा विभिन्न अफरहरू समेत सञ्चालन हुने भएकाले आजको दिन सवारी साधनको किनबेच पनि उल्लेख्य रूपमा हुने गरेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज धनत्रयोदशी अर्थात् धनतेरस पर्व मनाइँदै छ भने यमदीपदानको कार्य पनि आजैबाट सुरु हुनेछ । यस्तै, आगामी दिनहरूको तिहार पर्वका तिथिहरूका सम्बन्धमा पञ्चाङ्ग समितिले स्पष्ट पार्दै आइतबार काग तिहार, यमदीपदान र धन्वन्तरि जयन्ती पर्व मनाइने जानकारी दिएको छ । पर्वको यसै अवसरमा आजदेखि भाइटीकाको दिनसम्म कुनै पनि किसिमको व्यक्तिगत तथा व्यावसायिक कारोबारमा उधारो लेनदेन नगर्नु उत्तम हुने जनविश्वास नेपाली समाजमा रहिआएको छ ।







