धादिङका १३ स्थानीय तहको पहल: बर्दियाबाट फुर्केखोला ल्याइयो पन्टुन ब्रिज
79 पटक पढिएको
धादिङ । धादिङका आठवटा स्थानीय तहलाई पृथ्वी राजमार्गसँग जोड्ने मलेखुस्थित फुर्केखोलाको पक्की पुल गत भदौ १० गते आएको बाढीले बगाएपछि आवागमन सहज बनाउन पन्टुन ब्रिज (तैरिने पुल) जडान गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। मुख्य लाइफलाइन मानिएको पुल बाढीले बगाएपछि पछिल्लो ७० दिनभन्दा बढी समयदेखि पृथ्वी राजमार्ग, व्यस्त मलेखु बजार र धादिङका विभिन्न पालिकाबीचको सीधा यातायातसम्पर्क टुट्न पुगेको छ।
धादिङका १३ वटै स्थानीय तहको संयुक्त पहल र समन्वयमा राजापुर सिँचाइ व्यवस्थापन कार्यालय, बर्दियाअन्तर्गत विगत लामो समयदेखि थन्किएर रहे समन्वय गरी उक्त अस्थायी पन्टुन ब्रिज फुर्केखोला ल्याइएको हो। एक दशकभन्दा बढी समयदेखि प्रयोगविहीन अवस्थामा रहेको कारण उक्त पुलमा देखिएका सामान्य खिया तथा जीर्णोद्धारका लागि शनिबारदेखि नै रंगरोगन र मर्मतको काम सुरु गरिने ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले जानकारी दिए। उनका अनुसार रंगरोगन तथा आवश्यक पूर्वतयारी सकिएलगत्तै तिहारलगत्तै पुलको औपचारिक जडान कार्य सुरु गरिनेछ। प्राविधिक तयारी पूरा गरी पुल जडान गर्न बढीमा एक हप्ताको समय लाग्ने अनुमान गरिएको छ। बर्दियाबाट पुल ढुवानी गर्दा लाग्ने यातायात खर्च र स्थानीय स्तरमा हुने जडान तथा व्यवस्थापनको सम्पूर्ण खर्च जिल्लाका स्थानीय तहहरूले नै व्यहोर्ने सहमति भएको छ।

पन्टुन ब्रिज नदी, खोला वा अन्य जलाशयमाथि पानीमा तैरिन सक्ने संरचनाहरू आपसमा जोडेर निर्माण गरिने एक प्रकारको भरपर्दो अस्थायी पुल हो। यसमा फलामे ड्रम, खोक्रा धातुका परिष्कृत संरचना वा विशेष किसिमका तैरिने प्लेटफर्महरूलाई एकआपसमा कसिलो गरी जोडेर पुलको मुख्य आधार तयार पारिन्छ। त्यसको माथि बलिया फलामे पाता तथा सडक संरचना राखेर सर्वसाधारण मानिस तथा साना–ठूला सवारीसाधनहरू सुरक्षित रूपमा आवतजावत गर्न मिल्ने बनाइन्छ। सामान्यतया स्थायी पुल निर्माण हुन लामो समय लाग्ने, बाढीपहिरोका कारण पुल भत्किएर वा अचानक उत्पन्न आपत्कालीन अवस्थामा छोटो समयमै यातायात सुचारੂ गर्नुपर्दा पन्टुन ब्रिजको प्रयोग गर्ने गरिन्छ। यो प्रविधि तुलनात्मक रूपमा छिटो जडान गर्न सकिने हुनाले विपद्का बेला ठप्प बनेका यातायात सञ्जाललाई तत्काल जोड्न अत्यन्तै उपयोगी मानिन्छ।
२०५६ सालमा निर्माण गरिएको फुर्केखोलाको तत्कालीन पुल ११८ मिटर लम्बाइको बलियो स्टिल प्लेट गर्डर पुल थियो। सो पुल बाढीले पूर्ण रूपमा बगाएपछि धादिङका सर्वसाधारण र यात्रुहरू अहिले पनि कष्टकर वैकल्पिक मार्गहरूको भर पर्न बाध्य छन्। साना तथा मालवाहक सवारीसाधनहरू धादिङकै मासटार हुँदै आउजाउ गर्ने गरिए पनि कतिपय ग्रामीण खण्डमा सडक हिलाम्मे र कच्ची रहेका कारण यात्रुहरूले सास्ती व्यहोर्दै आएका छन्।
हाल पृथ्वी राजमार्गबाट मासटार–केउरेनी–पिपलटार–परेवाटार हुँदै धादिङबेँसी पुग्ने वैकल्पिक सडक सञ्चालनमा छ। यसैगरी त्यस्तै, धादिङबेँसीबाट काठमाण्डौं आउजाउ गर्न चाहने यात्रु तथा साना सवारीका लागि सुनौलाबजार–फोस्रेटार–कल्लेरीटार हुँदै गल्छी निस्कने वैकल्पिक सडक मार्ग प्रयोग गर्न सकिने अवस्था छ। तिहारलगत्तै फुर्केखोलामा पन्टुन ब्रिज जडान भएपछि यी कष्टकर वैकल्पिक मार्गहरूको सास्तीबाट स्थानीयवासीले ठूलो राहत पाउने अपेक्षा गरिएको छ।







